बाढीमा छोरा-बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं । नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा र बुहारी मात्रै खोसेन, बुढेसकालको सबैभन्दा ठूलो सहारा नै खोस्यो । तर, उनको काखमा रहेका तीन जना नाबालक नातिनातिनीको भविष्य अब सरकारले सम्हाल्ने भएको छ । परिवारको गुजारा चलाउन मजदुरी गर्न नुवाकोट पुगेका छोरा–बुहारी बाढीमा बेपत्ता भएपछि उनी एकैपटक सहाराविहीन हुन पुगे । 

घर फर्कने बाटो हेर्दै गरेका तीन जना नाबालक नातिनातिनीलाई कसरी हुर्काउने, पढाउने र भविष्य सुरक्षित गर्ने भन्ने चिन्ताले उनलाई थप पीडामा पारेको थियो । त्यही पीडाबीच अहिले उनका लागि आशाको खबर आएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको दीर्घकालीन स्याहार योजनाअन्तर्गत ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’मा तीनै जना बालबालिकालाई समेटिएको छ । 

यससम्बन्धी सम्झौता राष्ट्रिय बाल अधिकार परिषद्मा गरिएको हो । योजनाअन्तर्गत तीनै जना बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण, संरक्षण तथा आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ । 

आमाबुबा गुमाएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई सुरक्षित वातावरणमा हुर्काउँदै उनीहरूको भविष्य सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले यो व्यवस्था अघि बढाएको हो ।

नातिनातिनीको भविष्य सुरक्षित हुने खबर सुनेपछि वृद्धका आँखामा पीडासँगै खुसीका आँसु देखिए । उनले भावुक हुँदै भने, “छोरा–बुहारी गुमाएँ, त्यो पीडा कहिल्यै भुल्न सक्दिनँ । तर मेरा नातिनातिनीको भविष्य सुरक्षित हुने भयो । अब उनीहरू पढ्न पाउनेछन्, राम्रोसँग हुर्किन पाउनेछन् ।  नेपाल सरकारलाई धेरै–धेरै धन्यवाद ।”

बाढीले अभिभावक खोस्यो, तर बालबालिकाको भविष्य खोस्न सकेन । बुढेसकालको सहारा गुमाएका ती वृद्धका लागि अब तीन नातिनातिनीको भविष्यको चिन्ता एक्लै बोक्नुपर्ने छैन । 

राज्यले उनीहरूको शिक्षा, संरक्षण र भविष्य निर्माणको जिम्मेवारी लिएसँगै विपद्को अँध्यारोबीच यी तीन बालबालिकाको जीवनमा आशाको नयाँ उज्यालो थपिएको छ ।

Share News