एनआईसी एशिया इक्विटी फण्डको आकार १ अर्ब पुग्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड’ को इकाईमा निष्कासन भएको तीन दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

फण्डले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्कासन गरेकोमा सोमबार साँझ ५ बजेसम्म नै ८० करोड रुपैयाँभन्दा बढीको इकाई खरिदका लागि आवेदन परेको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार मागभन्दा बढी आवेदन परेपछि फण्डको स्वीकृत विवरण पुस्तिकामा रहेको व्यवस्थाअनुसार यसको आकार बढाएर अधिकतम १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिनेछ । 

इच्छुक लगानीकर्ताले असोज १३ गते (बुधबार) बैंकिङ समयसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।

कम्पनीका अनुसार फण्डका कुल ८ करोड इकाईमध्ये न्यूनतम १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई योजना प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुला गरिएको हो ।

यस योजनाको इकाई असोज ७ गतेदेखि असोज १३ गतेसम्म बिक्री खुला गरिएको थियो । तर मागभन्दा बढी आवेदन परिसकेकाले आवेदन अवधि असोज १३ गते बैंकिङ समयपछि बन्द हुनेछ ।

एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड १० वर्ष अवधिको छैटौं बन्दमुखी योजना हो । योजनामार्फत संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिनेछ । 

भविष्यमा राम्रो प्रतिफल दिन सक्ने तथा उच्च वृद्धि सम्भावना भएका कम्पनी पहिचान गरी अध्ययन र अनुसन्धानका आधारमा लगानी गर्ने योजना रहेको क्यापिटलले जनाएको छ ।

यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँका दरले लगानी गर्नुपर्नेछ ।

इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

योजनामा नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र प्राप्त व्यक्ति तथा प्रचलित कानुनबमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले लगानी गर्न सक्नेछन् । 

त्यस्तै, सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोषलगायत विभिन्न वर्ग वा समूहले स्थापना गरेका कोषले पनि इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।

Share News