काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको हड्डी तथा दाँतका नमुनाबाट मृतकको पहिचान गर्ने प्रक्रिया तीव्र पारिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा चिनियाँ र नेपाली वैज्ञानिकहरूको संयुक्त टोलीले भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको डीएनए प्रोफाइलिङ्गको काम गरिरहेको प्रतिष्ठानका प्रवक्ता डा. रामचन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार सेप्टेम्बर २६ सम्म हड्डी र दाँतका गरी १ हजार ४२६ वटा शवका नमुना संकलन गरिएकोमा संकलित नमुनामध्ये करिब ६५ प्रतिशत नमुना डीएनए प्रोफाइलिङका लागि प्रयोगशालामा पठाइएको छ ।
ती नमुनाको प्रोसेसिङको काम लगभग सकिएको र रिपोर्ट पठाउने क्रम जारी रहेको उनको भनाइ छ ।
डा. पौडेलले भने, ‘प्रयोगशालामा हालसम्म ९३२ वटा नमुना प्राप्त भएका छन् । जसमध्ये ३७ वटा भने रगतका नमुना हुन् । रगतका नमुना घटाउँदा हड्डी र दाँतका करिब ८९५ नमुना प्रयोगशालामा प्राप्त भएको देखिन्छ ।’
प्रयोगशालाले तीमध्ये करिब ६ सय नमुनाको रिपोर्ट तयार गरी सम्बन्धित निकायमा पठाइसकेको उनले बताए ।
डा. पौडेलका अनुसार प्रहरीको फरेन्सिक साइन्स प्रयोगशालाबाट प्राप्त नमुनाको रिपोर्ट प्रहरीलाई र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त नमुनाको रिपोर्ट सोही प्रयोगशालालाई पठाउने गरिएको छ ।
चीन सरकारको सहयोगमा प्राप्त उपकरण तथा रिएजेन्ट प्रयोग गरेर डीएनए प्रोफाइलिङ भइरहेको छ ।
प्रयोगशालामा यसअघि नै डीएनए प्रोफाइलिङका लागि आवश्यक २४ क्यापिलरी क्षमताको सिक्वेन्सर रहेको र त्यससँगै चिनियाँ सहयोगमा प्राप्त उपकरण तथा रिएजेन्ट प्रयोग भइरहेको उनले जानकारी दिए ।
उत्खननका क्रममा पछिल्लो समय नयाँ हड्डीका नमुना फेला पर्न छाडेको र नयाँ नमुना भेटिएमा तत्काल प्रयोगशालामा पठाएर परीक्षण गरिने डा. पौडेलले बताए ।
यस्तै, डीएनए परीक्षणमा सहयोग गरिरहेका चिनियाँ विज्ञमध्ये केही विज्ञ भोलि पर्सितिर फर्किने तयारीमा रहेको उनले बताएका छन् ।
बाँकी विज्ञ तथा सम्बन्धित नेपाली टोलीले पहिचानको प्रक्रिया निरन्तर अघि बढाउने प्रतिष्ठानले जनाएको छ ।