काठमाडौं । नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई घर पुर्याएको छ ।
आफूलाई असुरक्षित महसुस भएको भन्दै जबराले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई तत्काल सुरक्षित स्थानमा लगेर राखेको थियो । त्यसपछि थप सुरक्षा व्यवस्थासहित उनलाई निवासमा पुर्याइएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जबरालाई सुरक्षा थ्रेट दिने व्यक्ति तथा समूहको खोजी भइरहेको जानकारी दिए ।
‘डिस्कोर्डमा राणालाई धम्की दिने व्यक्तिको खोजी भइरहेको छ,’ उनले विकासन्युजसँग भने, ‘प्रहरीले त्यस्ता समूहको तीव्रताका साथ खोजी तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।’
कार्यालयका प्रमुख सन्तोष खड्काले जबराको निवासमा थप सुरक्षाकर्मी तैनाथ गरिएको बताए ।
उनका अनुसार सुरक्षा खतरा जबरालाई मात्रै देखिएको छ भने परिवारका अन्य सदस्यलाई तत्काल कुनै सुरक्षा खतरा छैन ।
प्रहरीले जबरालाई मंगलबार राति १२ बजे निवासबाट उद्धार गरेको जनाएको छ । सुरक्षा थ्रेटसम्बन्धी विशेष सूचना प्राप्त भएपछि उनलाई तत्काल सुरक्षित स्थानमा लगिएको खड्काले बताए ।
उनका अनुसार डिस्कोर्डमार्फत जबराविरुद्ध यसअघि पनि सुरक्षा थ्रेटको चेतावनी आइरहेको थियो । सोही आधारमा प्रहरीलाई विशेष सूचना प्राप्त भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उनलाई सुरक्षित स्थानमा लगिएको हो ।
‘हामीलाई विशेष सूचना प्राप्त भएकाले समयमा सचेत भएर सुरक्षित स्थानमा लगेका हौं,’ खड्काले भने ।
प्रहरीले जबरालाई धम्की दिने व्यक्ति वा समूहको पहिचान तथा घटनाको वास्तविकताबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।