काठमाडौं । सरकारले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गर्दै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार गरेको छ ।
बदलिँदो जीवनशैली तथा कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको अवस्थामा अभिभावकलाई नवजात शिशु र परिवारसँग पर्याप्त समय बिताउने वातावरण बनाउन विधेयक अघि बढाइएको हो । विधेयक अब मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा पेस गर्ने तयारी गरिएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा पाउनेछिन् भने बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउनेछन् । यसलाई सुरक्षित मातृत्व र अभिभावकत्वका क्षेत्रमा महत्वपूर्ण नीतिगत परिवर्तनका रूपमा अघि सारिएको छ ।
विधेयकको अवधारणाअनुसार बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चाको पालनपोषण र हेरचाह आमाको मात्र जिम्मेवारी नभई दुवै अभिभावकको साझा जिम्मेवारी हो ।
परिवारमा नवजात शिशुको हेरचाह र अभिभावकत्वमा बुबाको समेत सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले बुबाका लागि समेत लामो अवधिको तलबसहितको बिदा प्रस्ताव गरिएको हो ।