२० प्रतिशत बोनस दिँदै नर्भिक, स्वास्थ्य सेवामा आक्रामक विस्तारको तयारी

२ वर्षमा १०० फार्मेसी, ५० शय्याको सिटी अस्पताल

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले स्वास्थ्य सेवा विस्तारसँगै नयाँ अस्पताल, क्यान्सर उपचार केन्द्र र फार्मेसी सञ्जाल विस्तार गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको छ ।

नर्भिकको छैटौं वार्षिक साधारणसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य सेवा तथा व्यवसाय विस्तारका विभिन्न योजना अघि सारेको हो । 

साधारणसभामा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्दै पूर्वाधार विस्तार, आधुनिक प्रविधिको प्रयोग र सेवा क्षमता वृद्धि गर्ने योजना सार्वजनिक गरेका हुन् ।

कार्ययोजनाअनुसार नर्भिकले निर्माणाधीन अस्पताल भवनको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी नयाँ भवनबाट स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै, हाल काठमाडौं उपत्यकामा १५ शाखा सञ्चालनमा रहेको नर्भिक फार्मेसियाका शाखा चालु आर्थिक वर्षमा उल्लेख्य रूपमा बढाउने योजना छ । उपत्यकाभित्र १८ र उपत्यकाबाहिर १५ शाखा विस्तार गर्नुका साथै फ्रान्चाइज मोडलमा ६ शाखा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । 

यसअनुसार कुल शाखा संख्या ५४ पुर्याउने र आगामी दुई वर्षभित्र १०० वटा शाखा विस्तार गर्ने योजना नर्भिकले अघि सारेको छ ।

स्वास्थ्य सेवाको पहुँच काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा समेत विस्तार गर्ने उद्देश्यले नर्भिक सिटी हस्पिटल परियोजना पनि अघि बढाइएको छ । ५० शय्याको उक्त अस्पतालमा ओपिडी, आकस्मिक सेवा, क्रिटिकल केयर, आइपिडी र अप्रेसन थिएटरसहितका सेवा सञ्चालन गर्ने योजना छ ।

सिटी हस्पिटलमा प्याथोलोजी, युएसजी, इको, इन्डोस्कोपी, ल्याप्रोस्कोपी सर्जरी, एक्सरेलगायतका डायग्नोस्टिक तथा उपचार सेवा उपलब्ध गराउने नर्भिकले जनाएको छ । अस्पतालको सेवा हालको नर्भिक अस्पतालभन्दा सुलभ र स्थानीय सर्वसाधारणले सहज रूपमा उपयोग गर्न सक्ने बनाइने अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिए ।

यसैगरी, नर्भिकले अत्याधुनिक तथा एकीकृत क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नर्भिक एकीकृत क्यान्सर संस्थान स्थापना गर्ने योजना अघि सारेको छ । संस्थान स्थापनाका लागि कम्पनी स्थापना भइसकेको जनाइएको छ ।

चालु आर्थिक वर्षमा उक्त परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउने योजना रहेको छ । परियोजनाको नेतृत्व सल्लाहकारका रूपमा नर्भिकका संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरी रहेका छन् । संस्थानको अनुमानित कुल लागत करिब ३०० करोड रुपैयाँ रहने जनाइएको छ ।

नर्भिकले स्वास्थ्य सेवा सेवाग्राहीको घरसम्म पुर्याउने उद्देश्यले ‘नर्भिक एट होम’ सेवा पनि सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा होम हेल्थ केयर र जेरियाट्रिक सर्भिसबाट सेवा सुरु गर्ने योजना रहेको छ ।

सेवाप्रवाहलाई थप प्रभावकारी, एकीकृत तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रणालीको सुदृढीकरणलाई समेत प्राथमिकता दिइएको छ । गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, सेवा क्षमता वृद्धि, पूर्वाधार विकास, आधुनिक प्रविधिको प्रयोग तथा संस्थागत विस्तारलाई नर्भिकले आगामी दिनको मुख्य प्राथमिकता बनाएको जनाएको छ ।

२० प्रतिशत बोनस सेयर दिने

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्तावसमेत पारित भएको छ । यसका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृति गर्नेलगायत आवश्यक काम कारबाहीका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

साधारणसभालाई सम्बोधन गर्दै नर्भिकका संरक्षक तथा रणनीतिक सल्लाहकार बसन्तकुमार चौधरीले देशमा देखिएका विषम परिस्थितिका बाबजुद संस्थाले सकारात्मक आर्थिक सूचक हासिल गर्न सफल भएको बताए । उनले स्वास्थ्य सेवाका विभिन्न क्षेत्रमा नर्भिकले लगानी बढाउँदै लैजाने जानकारी दिए ।

सञ्चालक मेधा चौधरीले नर्भिकलाई केवल एउटा अस्पतालका रूपमा नभई आधुनिक, प्रविधिमैत्री, विशेषज्ञतामा आधारित तथा दिगो स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको विश्वसनीय केन्द्रका रूपमा विकास गर्ने बताइन् ।

मिश्रले हालैको रसुवा बाढीपीडितका लागि नर्भिक हस्पिटलको तर्फबाट एक करोड रुपैयाँ सहयोग गरिएको जानकारी दिए । नर्भिकले आफ्नो व्यावसायिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तर प्राथमिकता दिने जनाएको छ ।

एक वर्षमा १ लाख ७९ हजार ओपिडी बिरामी

नर्भिकको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा अस्पतालले ओपिडीतर्फ १ लाख ७९ हजार, आइपिडीतर्फ ९ हजार र आकस्मिकतर्फ ६ हजार बिरामीलाई उपचार सेवा दिएको छ ।

त्यस्तै, अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि ४१ हजार सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८२र८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

फार्मेसीसमेत जोड्दा कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँ, कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँ र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको नर्भिकले जनाएको छ ।

Share News