काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले घुम्ती स्वास्थ्य टोलीमार्फत होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले होल्डिङ सेन्टरमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाका लागि घुम्ती स्वास्थ्य टोलीमार्फत प्रारम्भिक स्क्रिनिङ, नियमित औषधिको निरन्तर आपूर्ति तथा जटिल बिरामीको समयमै उपचार र फलोअप सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले सम्भावित महामारी वा प्रकोपलाई मध्यनजर गर्दै जीवनजल, व्यक्तिगत सुरक्षा उपकरण, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको पर्याप्त भण्डारण गर्न, स्वच्छ खानेपानी, हात धुने व्यवस्था, भोजन, शौचालय तथा उचित फोहोर व्यवस्थापनका लागि जनस्वास्थ्य र वातावरणीय स्वास्थ्यकर्मी परिचालन गरी नियमित अनुगमन गर्न समितिले निर्देशन दिएको छ ।
बैठकले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको द्रुत चेतावनी प्रणालीमार्फत नियमित निगरानी, तत्काल रिपोर्टिङ र र्यापिड रेस्पोन्स टिम परिचालन गरी प्रकोपको तत्काल पहिचान र नियन्त्रण गर्न समेत निर्देशन दिएको छ ।
बाढीबाट क्षतिग्रस्त बनेका स्वास्थ्य संस्थाहरूको सेवा वैकल्पिक रूपमा सञ्चालन गर्दै प्राथमिकताका आधारमा समयबद्ध पुनर्निर्माण अघि बढाउन , मृतकहरूको सम्मानजनक व्यवस्थापन, पहिचान नभएका शवहरूको वैज्ञानिक अभिलेखीकरण, डीएनए परीक्षण र परिवारलाई समयमै शव हस्तान्तरण गर्न प्रहरी, विधि विज्ञान प्रयोगशाला र स्वास्थ्य मन्त्रालयबीच समन्वय गर्न समेत निर्देशन दिएको छ ।
बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले महामारी तथा सम्भावित रोगहरूको प्रकोप नियन्त्रणका लागि कुल सातवटा टोली फिल्डमा परिचालन गरिएको जानकारी दिए । झाडापखाला र हैजाविरुद्ध नुवाकोटमा ८० हजार ५२३ डोज र रसुवामा २१ हजार ६०० डोज गरी कुल एक लाखभन्दा बढी डोज पठाइसकिएको उनले बताए ।