गेटा स्वास्थ्य विश्वविद्यालयमा १५१ जनालाई करार जागिरको अवसर

काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा, कैलालीले विभिन्न स्वास्थ्य सेवा पदहरूमा करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

विश्वविद्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै स्वास्थ्य सेवाका आठौं, सातौं र सहायक पाँचौं तहका विभिन्न पदहरूमा गरी कुल १५१ जना जनशक्ति माग गरेको हो । 

विश्वविद्यालयले मेडिकल अधिकृतका लागि १०, डेन्टल सर्जनका लागि ४, बायोमेडिकल इन्जिनियरका लागि १, नर्सिङ अधिकृतका लागि १०, रेडियोग्राफी अधिकृतका लागि १, फार्मेसी अधिकृतका लागि २, फिजियोथेरापी अधिकृतका लागि २, ल्याब टेक्नोलोजिस्टका लागि ३, स्टाफ नर्सका लागि ९०, ल्याब टेक्निसियनका लागि १०, रेडियोग्राफरका लागि ६, फिजियोथेरापी सहायकका लागि २ र फार्मेसी सहायकका लागि १० जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त दिन सक्नेछन् । 

दरखास्त फारम विश्वविद्यालयको वेबसाइटबाट डाउनलोड गरी आवश्यक शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, सम्बन्धित परिषदमा दर्ता भएको प्रमाणपत्र र अनुभव खुल्ने कागजातसहित केन्द्रीय प्रशासन कार्यालय, गेटा, कैलालीमा उपस्थित भई पेश गर्नुपर्नेछ ।

दरखास्तका लागि अधिकृतर आठौं तहका उम्मेदवारले ७०० रुपैयाँ र सहायक पाँचौं तहका उम्मेदवारले ५०० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । उक्त शुल्क राष्ट्रिय वाणिज्य बैंकमा रहेको विश्वविद्यालयको खातामा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ ।

अधिकृत स्तरका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायक पाँचौँ तहका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् । 

छनोट विधिमा शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा संक्षिप्त सूची तयार गरिने र सर्टलिस्टमा परेका उम्मेदवारहरूको मात्र अन्तर्वार्ता लिइने विश्वविद्यालयले जनाएको छ ।

Share News