खरानीबाट ठडियो मीनबहादुरको साम्राज्य, अब ७७ वटै जिल्लामा भाटभटेनी

१० अर्ब ८६ करोडको भौतिक क्षति, ८ अर्बको बीमा दाबी

काठमाडौं । देशमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको देशव्यापी ‘जेनजी’ आन्दोलनले हिंसात्मक रूप लिएपछि त्यसको राँको भाटभटेनी सुपरमार्केटसम्म पुग्यो । मीनबहादुर गुरुङले चार दशकसम्म पसिना, संघर्ष र लगनशीलताले उभ्याएको व्यावसायिक साम्राज्य क्षणभरमै क्षतविक्षत भयो ।

गत वर्षको भदौ २३ र २४ गते आगोको धुवाँ, तोडफोडको आवाज र लुटपाटको दृश्यले नक्सालदेखि बिर्तामोडसम्मका भाटभटेनीका स्टोरहरू युद्ध मैदानजस्तै देखिन्थे । आन्दोलनको रापले देशभरका व्यवसायी त्रसित भइरहेका बेला नेपालको व्यावसायिक सफलताको एउटा प्रतीक बनेको भाटभटेनी पनि त्यसबाट अछुतो रहन सकेन ।

एउटा मात्रै शाखा होइन, देशभरका झन्डै २० वटा स्टोरमा क्षति पुग्यो । तीमध्ये १२ वटा स्टोर त हेर्दाहेर्दै पूर्णरूपमा जलेर खरानीको थुप्रोमा परिणत भए । भौतिक क्षति मात्रै करिब ११ अर्ब रुपैयाँको थियो । भाटभटेनीका अनुसार क्षतिको मूल्यांकन करिब १० अर्ब ८६ लाख रुपैयाँ पुगेको थियो । तर, जलेका भवन, सामान र संरचनाभन्दा ठूलो क्षति त्यसमा आश्रित हजारौं कर्मचारीको भविष्यमा परेको थियो ।

व्यवसाय जलेको थियो, तर सपना जलेको थिएन । त्यसको प्रमाण आज देखिन्छ । विनाश भएको एक वर्ष नपुग्दै खरानीबाट उठेर भाटभटेनीले फेरि आफ्ना स्टोरहरू सञ्चालनमा ल्याएको छ । जहाँ केही महिनाअघि आगोको मुस्लो देखिन्थ्यो, त्यही ठाउँमा अहिले ग्राहकको चहलपहल फर्किएको छ । जहाँ भग्नावशेष थियो, त्यहीँ फेरि व्यापार सुरु भएको छ ।

यो केवलसुपरमार्केट पुनर्निर्माणको कथामात्र नभईसंकटपछि फेरि उभिन सकिन्छ भन्ने एउटा व्यावसायिक उदाहरण पनि हो । भदौ २३ गतेको त्यो दिन सम्झिँदा भाटभटेनीका धेरै कर्मचारीका लागि घटना अझै ताजा छ । शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन अचानक हिंसात्मक बनेपछि भाटभटेनीका स्टोरहरूमा आगजनी र तोडफोड सुरु भयो ।

काठमाडौंका नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारका प्रमुख स्टोरहरूमा ठूलो क्षति पुग्यो । काठमाडौं बाहिर पोखरा, चितवन, हेटौंडा र विराटनगरलगायतका स्टोरहरू पनि आन्दोलनको निशानामा परे ।

कतिपय ठाउँमा कर्मचारीहरूले आफ्नो ज्यान जोगाएर भाग्नुर्पयो । केही घण्टामै वर्षौँ लगाएर बनाइएका संरचना ध्वस्त भए । सामान जले, भवन जले, करोडौंको लगानी खरानी भयो ।

तर, त्यस विनाशसँगै एउटा अर्को प्रश्न पनि उभियो, अब भाटभटेनी के हुन्छ ? चार दशकमा बनाएको व्यावसायिक संरचना एकै दिनमा तहसनहस भएपछि त्यसलाई फेरि उठाउनु सामान्य चुनौती थिएन । हजारौं कर्मचारीको रोजगारी, आपूर्ति शृंखला, लगानी र ग्राहकको विश्वाससँग जोडिएको एउटा विशाल संरचना पुनः सञ्चालनमा ल्याउनु थियो ।

तर, भाटभटेनी यत्तिकैमा रोकिएन । विनाशको धुवाँ सेलाउँदै गर्दा पुनःनिर्माणको काम सुरु भयो । भत्किएका संरचना हटाइए, नयाँ संरचना उठाइए र विस्तारै स्टोरहरूमा फेरि बत्ती बल्न थाले ।

आज, भदौ २३ गते, त्यो विनाशको एक वर्ष पुग्न अब एक दिनमात्र बाँकी छ । एक वर्षअघि यही दिन भाटभटेनीको अस्तित्वमाथि ठूलो प्रश्न खडा भएको थियो । आज त्यही भाटभटेनी फेरि उभिएको छ ।

सायद यही यात्राले एउटा सरल कुरा सम्झाउँछ, आगोले भवन जलाउन सक्छ, तर आँट र लगनशीलताबाट बनेको सपना जलाउन सक्दैन । 

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले विकासन्युजसँगको कुराकानीमा भन्छन्, ‘त्यो बेलाको दृश्य हेर्दा लागेको थियो– के हामी फेरि उठ्न सकिएला र ? नगद लुटिएको थियो, अर्बौंका सामान स्वाहा भएका थिए, भवनहरू संरचनात्मक रूपमै कमजोर भएका थिए ।’

प्रारम्भिक आँकलनमा करिब ११ अर्बको क्षति देखियो । तर, गुरुङले हार मानेनन् । बरु क्षतिलाई शक्तिमा बदल्ने संकल्प गरे । ‘हामीले दुःख गरेर बस्ने समय नै पाएनौं, किनकि हामीमाथि १० औं हजार कर्मचारी र तिनका परिवारको जिम्मेवारी थियो,’ सीओओ पौडेलले भने ।

पुनः निर्माणमा १४ अर्ब लगानी

विगत एक वर्ष भाटभटेनीका लागि केवल मर्मतको समय थिएन, यो त पुनर्जन्मको कालखण्ड थियो । क्षति भएको १० अर्बमा थप ३ अर्ब थपेर झन्डै १४ अर्ब रुपैयाँको लगानीमा स्टोरहरूलाई पहिलेभन्दा आधुनिक र भव्य बनाइएको छ । 

पुनःनिर्माणका क्रममा भवनहरूको स्तरोन्नति मात्र गरिएको छैन, उपभोक्ताको सुविधाका लागि प्रविधि र सौन्दर्यीकरणमा समेत भारी लगानी गरिएको भाटभटेनीको भनाइ छ । अहिलेका स्टोरहरू पहिलेभन्दा सुरक्षित, गुणस्तरीय र आकर्षक रहेका सीओओ पौडेलले बताए । 

भाटभटेनी सुपर मार्केटले आफ्नो भौतिक क्षतिपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिँदै अधिकांश शाखाहरू पुनः सञ्चालनमा ल्याएको छ । भाटभटेनीका अनुसार कुल १२ वटा प्रभावित शाखाहरूमध्ये असोज ५ गतेसम्म १० वटा शाखा पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन् । २७ मध्ये २३ वटा स्टोरहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् । 

हालसम्म उपत्यकाभित्रका महाराजगञ्ज, कोटेश्वर, बौद्ध र वेयरहाउस सञ्चालनमा आइसकेका छन् भने टंगाल शाखा असोज ५ गतेदेखि सञ्चालन हुने तयारीमा छ । उपत्यका बाहिर विराटनगर, बिर्तामोड, चितवन, पोखरा र बुटवलका शाखाहरू यसअघि नै खुलिसकेका छन् भने धरानको शाखा भोलिदेखि सञ्चालनमा आउने पौडेलले जानकारी दिए ।

झन्डै ८ अर्ब रुपैयाँको बीमा दाबी

भाटभटेनीका अनुसार मेसिनरी र स्टकमा रहेका सामानसहित भौतिक रूपमा कुल १० अर्ब ८६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । कम्पनीले उक्त क्षतिको शोधभर्नाका लागि बीमा कम्पनीहरूसँग झन्डै ८ अर्ब रुपैयाँको बीमा दाबी गरेको छ, जुन हाल प्रक्रियाकै क्रममा रहेको छ । कर्मचारी र तलबको व्यवस्थापन घटनाका क्रममा मानवीय क्षति भने नभएको कम्पनीले जनाएको छ । 

कुनै पनि कर्मचारी घाइते नभएको र उनीहरूलाई अन्य शाखाहरूमा स्थानान्तरण गरेर व्यवस्थापन गरिएको थियो । विशेष कुरा के छ भने शाखा बन्द भएको अवस्थामा पनि कर्मचारीहरूले घटना भएदेखि नै निरन्तर रूपमा आफ्नो तलब र सुविधा पाइरहेको पौडेलले उल्लेख गरे । 

कारोबारमा २० प्रतिशत गिरावट 

लामो समयसम्म शाखाहरू बन्द रहेका कारण कम्पनीको समग्र कारोबारमा असर परेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कारोबारमा करिब २० प्रतिशतले गिरावट आएको पौडेलले जानकारी दिए । 

घटनाको ७० दिनपछि मुख्य वेयरहाउस सञ्चालनमा आएपछि आपूर्ति व्यवस्थापनमा केही सहजता भएको र अहिले बिस्तारै ग्राहकहरूको संख्या पनि बढ्दै गएको बताइएको छ । कम्पनीले बाँकी रहेका दुई शाखाहरू पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ ।

मीनबहादुरको सपना अब ७७ वटै जिल्लामा

वितण्डाको त्यो घाउलाई बिर्सिएर भाटभटेनी अब नयाँ गन्तव्यतर्फ लम्किएको छ । वार्षिक करिब ३९ अर्बको कारोबार गर्ने यो चेनले अबको केही समयभित्रै थप नयाँ स्टोरहरू सञ्चालनमा ल्याइने बताएको छ । 

भाटभटेनीका अनुसार चितवनको टाँडी र पोखराको लेखनाथमा यहीँ आर्थिक वर्षभित्र स्टोर खुल्नेछन् भने सातदोबाटो र भैंसेपाटीमा आगामी वर्षको योजना रहेको छ ।

अब ७७ वटै जिल्लामा भाटभटेनी पुर्याउने र स्वदेशमै रोजगारीको सिर्जना गर्ने हो । सीओओ पौडेलले पहिलो चरणमा ५० वटा स्टोर पुर्याउने र ५० हजार नेपालीलाई रोजगारी दिने भाटभटेनीको लक्ष्य रहेको बताए । 

‘विगतको घटनालाई हामीले गुनासोका रूपमा लिएका छैनौं,’ सीओओ पौडेल भन्छन्, ‘हामीले त त्यसलाई एउटा पाठ र अझ बलियो हुने अवसरका रूपमा लिएका छौं ।’

यो पनि पढ्नुहोस् :

५० स्टोर पुर्याउने भाटभटेनीको लक्ष्य, ५० हजारलाई रोजगार

Share News