काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार र प्रभावितको राहत–पुनःस्थापनालाई प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच सर्वदलीय छलफल जारी छ ।
सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा मंगलबार अपरान्ह सुरु भएको बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।
बैठकमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्रभावकारी बनाउने, प्रभावित क्षेत्रमा राहत र उद्धारलाई थप व्यवस्थित गर्ने तथा सरकारका कामकारबाहीको अनुगमनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई ध्यानमा राख्दै जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिने र राष्ट्रिय विपद् व्यवस्थापन नीतिमा समयानुकूल सुधार गर्ने विषय पनि बैठकका प्रमुख एजेन्डा छन् ।
दलहरूले विपद् व्यवस्थापनमा सरकारलाई आवश्यक सुझाव, सहयोग र निरन्तर निगरानी उपलब्ध गराउने गरी संसदीय संयन्त्र बनाउने प्रस्ताव अघि सारेका छन् । उक्त संयन्त्रले उद्धार तथा राहतपछि पुनर्निर्माण र पुनःस्थापनासम्मका काममा सरकारसँग समन्वय गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । बाढीमा परेर धेरै व्यक्ति बेपत्ता भएका छन् भने सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।
बाढी प्रभावितको उद्धार, बेपत्ताको खोजी र राहत कार्य जारी रहेका बेला राजनीतिक दलहरूले विपद्पछिको पुनर्निर्माणलाई साझा राष्ट्रिय दायित्वका रूपमा अघि बढाउन सर्वदलीय संयन्त्र निर्माणको पहल थालेका हुन् ।