काठमाडौं । विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रोफेसनल होल्डिङ्स लिमिटेड (ग्लोबल कलेज ग्रुप)ले प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ ।
मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उक्त रकम कोषमा जम्मा गरेको जनाएको हो । विपद्को कठिन परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत र पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग तथा मानवीय सेवामा आफ्नो प्रतिबद्धता निरन्तर रहने बताएको छ ।
यसैबीच, ग्लोबल कलेज ग्रुपका अध्यक्ष खगेन्द्र ओझाले व्यक्तिगततर्फबाट थप १ लाख रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा सहयोग गरेका छन् ।
कम्पनी र अध्यक्ष ओझाको सहयोगले विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनामा थप टेवा पुग्ने विश्वास गरिएको छ ।