काठमाडौं । परोपकार नर्सिङ क्याम्पसको सञ्चालक समितिले सहायक क्याम्पस प्रमुख प्रतिक्षा गौतम मरासिनीको बाँकी करार अवधि नथप्ने निर्णय गरेको छ ।
मंगलबार (साउन १९ गते) बसेको सञ्चालक समितिको बैठकले मरासिनीको करार नवीकरण नगर्ने तथा अब सहायक क्याम्पस प्रमुख पदमा क्याम्पसकै स्थायी कर्मचारीबाट नियुक्ति गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
यो निर्णयसँगै केही महिनादेखि विवादमा रहेको सहायक क्याम्पस प्रमुख नियुक्ति प्रकरण औपचारिक रूपमा नयाँ मोडमा पुगेको छ ।
मरासिनीको नियुक्ति सुरुदेखि नै विवादित बनेको थियो । नियुक्ति प्रक्रिया पारदर्शी नभएको, स्थापित मापदण्ड पालना नगरिएको तथा स्थायी कर्मचारीलाई बेवास्ता गरिएको भन्दै क्याम्पसभित्रै प्रश्न उठेका थिए । कर्मचारी र सरोकारवालाले नियुक्ति प्रक्रियाको वैधानिकता र औचित्यमाथि समेत प्रश्न गरेका थिए ।
विकासन्युजले नियुक्ति प्रक्रियासम्बन्धी अनियमितता, कर्मचारीको असन्तुष्टि तथा प्रशासनिक निर्णयबारे निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो । समाचारमार्फत उठाइएका विषयले क्याम्पसभित्र मात्र होइन, सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराएको क्याम्पसका एक कर्मचारीले जानकारी दिए ।
स्रोतका अनुसार नियुक्ति विवाद स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयसम्म पुगेपछि मन्त्रालयले समेत घटनाक्रमबारे चासो देखाएको थियो ।
मन्त्रालयका सचिव डा. विकास देवकोटा र ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीको दवावमा भएको नियुक्तिसम्बन्धी निर्णय सञ्चालक समितिले सच्याएको क्याम्पसका एक कर्मचारीले जानकारी दिए ।
प्रतिक्षा डा. मरासिनीकी श्रीमती हुन् । सचिव डा. देवकोटाकी श्रीमती विष्णु भुजेल पनि क्याम्पसमा करार सेवामार्फत कार्यरत रहेकी छन्।
मंगलबारको बैठकले अन्ततः मरासिनीको बाँकी करार अवधि नथप्ने निर्णय गर्दै आगामी दिनमा सहायक क्याम्पस प्रमुख पदमा क्याम्पसका स्थायी कर्मचारीबाट नियुक्ति गर्ने नीति अघि सारेको हो । यसलाई क्याम्पसभित्र लामो समयदेखि उठ्दै आएको मागको सम्बोधनका रूपमा हेरिएको कर्मचारीहरूको दाबी छ ।
क्याम्पस स्रोतका अनुसार स्थायी कर्मचारीबाट जिम्मेवारी दिने निर्णयले संस्थागत प्रणालीलाई बलियो बनाउने, आन्तरिक वृत्ति विकासको अवसर सिर्जना गर्ने तथा भविष्यमा यस्ता विवाद दोहोरिन नदिने अपेक्षा गरिएको छ ।
यस विषयमा निर्णयबारे औपचारिक धारणा लिन खोज्दा क्याम्पस प्रमुख रीना श्रेष्ठले प्रतिक्रिया दिन चाहिनन् । श्रेष्ठले उल्टै क्याम्पसको उन्नति नचाहनेहरूले समाचार बनाएर क्याम्पसको उन्नतिमा अवरोध सिर्जना गरेको बताइन् ।