युद्धको भारले थिचियो अमेरिका, इरानमा करिब ५८ खर्ब खर्च

थप बजेट माग्दै ट्रम्प प्रशासन

काठमाडौं । इरानसँगको युद्धमा संयुक्त राज्य अमेरिकाले हालसम्म ३७.५ अर्ब अमेरिकी डलर (५७ खर्ब, ८९ अर्ब रुपैयाँ) खर्च गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युद्धमा ३७.५ अर्ब अमेरिकी डलर खर्च भइसकेको अमेरिकी रक्षा सचिव पिट हेगसेथले जानकारी दिए ।

मंगलबार वाशिङ्टनमा आयोजित संसदीय सुनुवाइमा उनले युद्धसँग सम्बन्धित हालसम्मको खर्च तथा सेप्टेम्बर ३० सम्म हुने अनुमानित खर्च समेत जोडेर यो रकम पुगेको जानकारी दिएका हुन् ।

तर पेन्टागनले उक्त हिसाब कसरी निकालेको हो भन्नेबारे स्पष्ट जानकारी दिएको छैन । यसअघि मार्चमा रोयटर्सलाई एक स्रोतले युद्धको पहिलो छ दिनमै कम्तीमा ११.३ अर्ब डलर खर्च भएको ट्रम्प प्रशासनको अनुमान रहेको जनाएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना इरान युद्धसँग सम्बन्धित खर्चका लागि मुख्य रूपमा प्रयोग हुने गरी करिब ९० अर्ब डलर अतिरिक्त बजेट स्वीकृत गर्न कंग्रेससँग माग गरेका थिए । यसले युद्धप्रति असन्तुष्ट सांसदहरूसँग फेरि बजेट विवाद चर्किने संकेत गरेको छ ।

आगामी मध्यावधि निर्वाचन हुन अब करिब छ महिना मात्रै बाँकी रहेकाले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभा र सिनेटमा आफ्नो बहुमत जोगाउन कठिन हुने अनुमान गरिएको छ । 

डेमोक्र्याटहरूले भने महँगीसँगै अलोकप्रिय इरान युद्धलाई प्रमुख चुनावी मुद्दा बनाउने प्रयास गरिरहेका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण सुरु गरेयता ट्रम्प प्रशासनले युद्धको अवस्था र आफ्नो रणनीतिबारे पर्याप्त जानकारी नदिएको भन्दै रिपब्लिकन र डेमोक्र्याट दुवै दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

संसदीय विनियोजन समिताकी वरिष्ठ डेमोक्र्याट सिनेटर प्याटी मरेले ट्रम्पले युद्ध थप चर्काउने तथा युद्ध अपराध हुन सक्ने गतिविधिको संकेत दिएको आरोप लगाइन् । 

उनका अनुसार ट्रम्पले इरानका नागरिक पूर्वाधारलाई समेत निशाना बनाउन सक्ने चेतावनी दिएका छन्, जसलाई आलोचकहरूले सम्भावित युद्ध अपराधको रूपमा हेरेका छन् ।

डेमोक्र्याट सिनेटर किस्र्टन गिलिब्रान्डले पनि ट्रम्प प्रशासनको भनाइमा स्पष्टता नभएको आरोप लगाउँदै भनिन्, ‘युद्ध सकिएको हो कि होइन भन्ने कुरा तपाईंहरूको अभिव्यक्तिबाट बुझ्नै सकिँदैन ।’

युद्धले रक्षा बजेटमा दबाब

हेगसेथले तत्काल थप बजेट नपाए अमेरिकी सेनाको प्रशिक्षण कार्यक्रमसमेत कटौती गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

उनका अनुसार युद्धले करिब १ ट्रिलियन डलरको अमेरिकी रक्षा बजेटमा ठूलो दबाब सिर्जना गरेको छ । संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पनि सैनिकहरूको तलब व्यवस्थापन गर्न सकिए पनि उपकरण मर्मत र भविष्यका सैन्य क्षमता विकासमा समस्या आउन सक्ने स्वीकार गरे ।

हेगसेथले सांसदहरूसँग अतिरिक्त बजेट मात्र नभई सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको रक्षा बजेट पनि स्वीकृत गर्न आग्रह गरे ।

उनले भने, ‘मेरो विश्वासमा रक्षा विभागलाई १।५ ट्रिलियन डलरको बजेट नदिनु नै हाम्रो राष्ट्रले सामना गर्ने सबैभन्दा ठूलो सुरक्षा जोखिम हुनेछ ।’

युद्ध फेरि चर्कियो

यस महिनाको सुरुआतमा अमेरिका र इरानबीचको कमजोर युद्धविराम भंग भएपछि दुवै पक्षले दैनिक रूपमा एकअर्कामाथि आक्रमण गरिरहेका छन् ।

सप्ताहन्तसम्म इरान युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १८ पुगेको छ भने करिब ४३० सैनिक घाइते भएका छन् । 

पेन्टागनका अनुसार जुलाई ७ यता मात्रै १०० सैनिक घाइते भए पनि तीमध्ये ९६ प्रतिशत पुनः सेवामा फर्किसकेका छन् ।

गत सातादेखि ट्रम्पले इरानका ऊर्जा पूर्वाधार, पुल, खार्ग टापुको तेल केन्द्र तथा ‘पिकएक्स माउन्टेन’ नामक गहिरो भूमिगत आणविकसँग सम्बन्धित स्थलमा समेत आक्रमण विस्तार गर्न सकिने चेतावनी दिँदै आएका छन् ।

मंगलबार ट्रम्पले उक्त पर्वतीय आणविक केन्द्रलाई ‘निकट भविष्यमै ध्वस्त पारिने’ बताएका छन् ।

अन्य सामग्रीहरू :

इरान युद्ध अपडेट : विश्वलाई असर पार्ने पाँच महत्त्वपूर्ण घटनाक्रम

गोप्य रूपमा सुन थुपार्दै चीन, सरकारी तथ्यांकभन्दा धेरै सुन भएको दावी

५ सयभन्दा बढी रोहिङ्ग्या समुद्रमा बेपत्ता

Share News