फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फाइनलमा

काठमाडौं । स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको डलास स्टेडियममा बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई दबाबमा राख्यो ।

स्पेनका लागि मिकेल ओयारजाबालले खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे । त्यसपछि पेड्रो पोरोले ५८ औं मिनेटमा अर्को गोल थप्दै स्पेनको जित सुनिश्चित गरे ।

प्रतियोगिताभर बलियो आक्रमणका लागि चर्चामा रहेको फ्रान्स स्पेनको संगठित रक्षापंक्तिलाई टुटाउन सकेन । निर्धारित ९० मिनेटमा फ्रान्सले गोल फर्काउन नसक्दा स्पेन सहज रूपमा फाइनलमा पुग्न सफल भयो ।

यो जितसँगै स्पेनले विश्वकप इतिहासमा दोस्रो पटक उपाधि जित्ने अवसर पाएको छ । स्पेनले यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई १–० ले हराउँदै विश्वकप उपाधि जितेको थियो ।

अब स्पेनले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

२०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स भने यसपटक सेमिफाइनलबाटै बाहिरिएको छ ।

Share News