काठमाडौं । रकारले विपद् खोज तथा उच्च जोखिमयुक्त उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई विशेष जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । असार ३० गते (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
नयाँ व्यवस्था अनुसार उच्च जोखिमयुक्त उद्धार कार्यमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरूले मासिक रूपमा आफ्नो तलबको १५ प्रतिशत र उद्धारमा खटिएको दिन प्रतिव्यक्ति दैनिक ५ सय रुपैयाँका दरले जोखिम भत्ता पाउनेछन् ।
यो व्यवस्था विशेष गरी गोताखोर, उच्च भूभाग, खोंच तथा हिमाली क्षेत्र जस्ता चुनौतीपूर्ण स्थानमा खटिने सुरक्षाकर्मीहरूका लागि लागू हुनेछ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नेतृत्व सम्हालेदेखि नै यस विषयलाई उच्च प्राथमिकतामा राखेर पहल गर्दै आएका थिए ।
सरकारको यस रणनीतिक निर्णयले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप चुस्त, प्रभावकारी र हौसलापूर्ण बनाउन ठूलो मद्दत पुग्ने विश्वास सशस्त्र प्रहरी बलले लिएको छ ।