खोज तथा उद्धारमा खटिने प्रहरीलाई प्रोत्साहन भत्ता

काठमाडौं । सरकारले खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धार कार्यमा प्रत्यक्ष रूपमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए । 

सरकारको यो निर्णयसँगै प्राकृतिक विपद्, दुर्घटना तथा अन्य आपत्कालीन अवस्थाको खोज तथा उद्धार अभियानमा जोखिम मोलेर खटिने सशस्त्र प्रहरीका जनशक्तिले अतिरिक्त प्रोत्साहन सुविधा पाउने भएका छन् ।

नेपालमा बाढी, पहिरो, भूकम्प, हिमपहिरो, डुबान तथा अन्य विपद्का घटनामा सशस्त्र प्रहरी बलको विशेष खोज तथा उद्धार टोली नियमित रूपमा परिचालित हुँदै आएको छ । जोखिमपूर्ण परिस्थितिमा निरन्तर परिचालन हुने जनशक्तिको मनोबल अभिवृद्धि गर्न सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय गरेको हो ।

Share News