काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका दुवैले सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा नियुक्तिपत्र बुझेका हुन् । घिमिरेले सोही दिन पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरेका छन् ।
नियुक्तिपत्र हस्तान्तरण गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दुवै नियामक निकायको नेतृत्वले निष्पक्ष, परिणाममुखी र नागरिकमुखी ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट नेतृत्वमा पुगेकाले उनीहरूप्रति सरकारको उच्च अपेक्षा रहेको उल्लेख गर्दै उनले कानुन र विधिको सीमाभित्र रहेर जनहितलाई केन्द्रमा राखी काम गर्न निर्देशन दिए ।
मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रमा बढ्दो गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै त्यसको प्रभावकारी नियन्त्रणमा प्रेस काउन्सिलले सक्रिय भूमिका खेल्नुपर्ने बताए । उनले प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवर्द्धन र सञ्चार क्षेत्रको विश्वसनीयता अभिवृद्धिमा काउन्सिलले प्रभावकारी हस्तक्षेप गर्नुपर्नेमा जोड दिए ।
उनले प्रेस काउन्सिल ऐन समयानुकूल नभएकाले त्यसको सुधार आवश्यक रहेको उल्लेख गर्दै मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अघि बढिसकेको जानकारी दिए । नियामक संस्थाको संस्थागत क्षमता अभिवृद्धि र प्रभावकारी कार्यसम्पादनका लागि मन्त्रालय आवश्यक नीतिगत सहयोग गर्न तयार रहेको पनि उनले बताए ।
दूरसञ्चार क्षेत्रतर्फ संकेत गर्दै मन्त्री तिमिल्सिनाले सेवा विस्तार, गुणस्तर सुधार र क्षेत्रका विद्यमान समस्या समाधानलाई प्राथमिकतामा राख्न अध्यक्ष घिमिरेलाई निर्देशन दिए । नागरिकको हित, सेवा गुणस्तर र सुशासनलाई केन्द्रमा राखी अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर काम गर्न उनले आग्रह गरे ।
नवनियुक्त प्रेस काउन्सिल अध्यक्ष उमेश श्रेष्ठले सञ्चार माध्यमको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहे पनि काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको भन्दै त्यसको समयानुकूल संशोधन आवश्यक रहेको बताए । पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, स्वनियमन प्रणालीको सुदृढीकरण तथा सरकार र सञ्चार क्षेत्रबीच विश्वासको वातावरण निर्माण आफ्नो प्राथमिकता रहने उनले बताए ।
त्यस्तै, दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधान, सेवा विस्तार, सुशासन प्रवर्द्धन र कानुनसम्मत नियमनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार क्षेत्र निर्माणका लागि आवश्यक निर्णय लिन आफू दृढ रहेको उनको भनाइ थियो ।