काठमाडौं । अनौपचारिक रूपमा फिफा विश्वकप २०२६ लाई ‘सुपरस्टारहरूको विश्वकप’ समेत भनिएको छ । प्रतियोगिताका धेरै ठूला स्टार खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै लगातार गोल गरिरहेका छन् ।
यसै कारण यसपटकको विश्वकपमा गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को दौड इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक र रोमाञ्चकमध्ये एक बनेको छ ।
यी हुन् प्रमुख दाबेदार
६ गोल
लियोनेल मेसी
विश्वकप २०२२ अघि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा लियोनेल मेसीको गोल गर्ने रेकर्ड त्यति प्रभावशाली थिएन । तर कतार विश्वकपदेखि सुरु भएको उनको उत्कृष्ट लय उत्तर अमेरिकामा जारी छ ।
समूह चरणका पहिलो दुई खेलमा मेसीका गोलकै बलमा अर्जेन्टिनाले जित निकाल्यो । अल्जेरियाविरुद्ध उनले विश्वकप करिअरकै पहिलो ह्याट्रिक पूरा गर्दै प्रतियोगिताको इतिहासमा एकै खेलमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बने ।
त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले लगातार छवटा विश्वकप सहभागितामा गोल गर्ने इतिहासका तेस्रो खेलाडी बन्न सफल भए । ती दुई गोलसँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजे (१६ गोल) लाई पछि पारेर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने ।
जोर्डनविरुद्ध सुरुआती टोलीमा नराखिए पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले फेरि गोल गरे । यससँगै यस संस्करणमा उनको गोल संख्या ६ पुगेको छ ।
केलियन एम्बाप्पे
मेसीलाई सबैभन्दा नजिकबाट पछ्याइरहेका खेलाडी हुन् फ्रान्सका कप्तान केलियन एम्बाप्पे, जो विश्वकपमा सधैं चम्किने खेलाडीका रूपमा चिनिन्छन् ।
सेनेगलविरुद्ध उनले माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पहिलो गोल गरे भने खेलको अन्त्यतिर लामो दूरीबाट अर्को आकर्षक गोल थपे ।
इराकविरुद्ध पनि उनले लामो दूरीबाट शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि विपक्षी रक्षकको ठूलो गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरे ।
नर्वेविरुद्ध गोल गर्न नसके पनि उनले दुई असिस्ट दिएका थिए । अन्तिम ३२ को चरणमा स्विडेनविरुद्ध भने उनी पुनः चम्किए । पहिलो गोल व्यक्तिगत कौशलको उत्कृष्ट नमुना थियो भने दोस्रो गोल गर्दै उनले फ्रान्सको जित सुनिश्चित गरे, जसमा ओलिसेको योगदान पनि उल्लेखनीय रह्यो ।
५ गोल
अर्लिङ हालान्ड
सर्वाधिक गोलकर्ताको सूचीमा अर्लिङ हालान्डको नाम हुनु कुनै आश्चर्यको विषय होइन । यद्यपि यसपटक उनी शीर्ष स्थानमा नभई पछ्याइरहेका खेलाडीमध्ये छन्, तर विश्वकप २०२६ मा उनको प्रदर्शन निकै प्रभावशाली रहेको छ ।
विश्वकप डेब्यूमै उनले डेभिड मोलर वुल्फेको क्रसलाई गोलमा परिणत गर्दै पहिलो गोल गरे । त्यसपछि इराकका गोलरक्षकको क्लियरेन्स रोक्दा बल उनकै शरीरमा लागेर गोलमा प्रवेश गर्दै दोस्रो गोल सम्भव भयो ।
सेनेगलविरुद्ध उनले दुई गोल थपे । पहिलो गोल तीव्र गतिमा गरिएको काउन्टर अट्याकपछि आएको थियो भने दोस्रो गोल पेनाल्टी क्षेत्रभित्रको भिडन्तपछि हावामै आएको बललाईल सिधै प्रहार गर्दै गरेका थिए ।
फ्रान्सविरुद्ध उनी खेलेनन् । यदि त्यो खेल खेलेका भए सम्भवतः उनी नै गोल्डेन बुट दौडमा शीर्षस्थानमा हुन सक्थे । तर अन्तिम ३२ को चरणमा आइभरी कोस्टविरुद्ध फर्किएर उनले विजयी गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याए ।
ह्यारी केन
के यस विश्वकपका सबैभन्दा कम चर्चा गरिएका उत्कृष्ट खेलाडी ह्यारी केन हुन् ? चार खेलमा पाँच गोल गरेका उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १३ पुर्याएका छन् । यससँगै उनी फ्रान्सका जस्ट फन्टेनसँग संयुक्त रूपमा विश्वकप इतिहासका छैटौं सर्वाधिक गोलकर्ता बनेका छन् । साथै गोल्डेन बुटको दौडमा रहेका मेसी र एम्बाप्पेभन्दा उनी केवल एक गोलले पछाडि छन् ।
क्रोएसियाविरुद्ध सुरुमा उनले पेनाल्टी मिस गरेका थिए । तर पुनः प्रहार गर्ने अवसर पाएपछि गोल गर्न सफल भए । त्यसपछि डेक्लन राइसको कर्नरमा हेडमार्फत अर्को गोल थपे ।
घानाविरुद्ध गोल गर्न नसके पनि पानामाविरुद्ध जुड बेलिङ्घमको पासमा हेडमार्फत गोल गर्दै इंग्ल्यान्डलाई २–० को जित दिलाउन योगदान दिए ।
डीआर कङ्गोविरुद्ध भने उनी टोलीका वास्तविक उद्धारकर्ता बने । टोली पछि परेको अवस्थामा उनले लियोनेल एम्पासीलाई स्तब्ध पार्ने उत्कृष्ट हेडमार्फत बराबरी गोल गरे । त्यसको केही मिनेटपछि उनले ८६औं मिनेटमा गोलको माथिल्लो कुनामा शक्तिशाली प्रहार गर्दै विजयी गोल गरे र इंग्ल्यान्डलाई २–१ को रोमाञ्चक जित दिलाए ।
४ गोल
उस्मान डेम्बेले
हालका बालोन डीओर विजेता उस्मान डेम्बेलेले पनि उत्तर अमेरिकामा उत्कृष्ट विश्वकप बिताइरहेका छन्, यद्यपि उनी आफ्नै टोलीका अन्य स्टार खेलाडीहरूको छायामा परेका छन् ।
इराकविरुद्ध उनले ठूलो प्रतियोगितामा पहिलो गोल गरे । त्यसपछि समूह चरणको तेस्रो खेलमा नर्वेविरुद्ध फ्रान्सको ४–१ को जितमा निर्णायक भूमिका निभाए । उनले पहिलो हाफमै विपक्षी फुलब्याकलाई निरन्तर दबाबमा राख्दै ३२ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए ।
भिनिसियस जुनियर
रोड्रिगो र राफिन्हा चोटका कारण अनुपस्थित भएपछि ब्राजिलको आक्रमणको जिम्मेवारी भिनिसियस जुनियरले सफलतापूर्वक सम्हालेका छन् ।
मोरक्कोविरुद्ध उनले बायाँ फ्ल्याङ्कबाट उत्कृष्ट व्यक्तिगत प्रयास गर्दै महत्त्वपूर्ण बराबरी गोल गरे । हाइटीविरुद्ध आफ्नो तीव्र गतिका बलमा रक्षापङ्क्ति पार गर्दै गोल गरे भने स्कटल्यान्डविरुद्ध विपक्षीको गल्तीबाट सहज गोल र कुनै चुनौतीबिनाको हेडमार्फत अर्को गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या ४ पुर्याएका छन् ।