काठमाडौं । नेपालीहरूले एक वर्षको अवधिमा आन्तरिक तथा बाह्य पर्यटनमा गरी कुल ४ खर्ब ५९ अर्ब रुपैयाँ खर्च गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ अनुुसार नेपालीले सो खर्च गरेका हुन् ।
यसमध्ये सबैभन्दा ठूलो हिस्सा स्वदेशभित्रको यात्रामा खर्च भएको देखिएको छ । तथ्यांकअनुसार नेपालीहरुले स्वदेशमै ३ खर्ब ९५ अर्ब र विदेश यात्रामा ६३ अर्ब ६४ करोड खर्च गरेका छन् । त्यसैगरी वाह्य पर्यटनअन्तर्गत रात विताउने भ्रमणमा ४७ अर्व ९७ करोड रुपैयाँ तथा सोही दिन फर्किने भ्रमणमा १५ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ ।
उद्देश्यगत रूपमा स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा कुल खर्चको ३१.७८ प्रतिशत खर्च भएको छ, जुन सवैभन्दा उच्च हिस्सा हो । स्वयंसेवा, बसाइँसराइ तथा अन्य प्रयोजनका भ्रमणमा खर्चको हिस्सा ०.८ प्रतिशत मात्र रहेको छ । खर्चका शीर्षकहरूमध्ये किनमेलमा २६ प्रतिशत खर्च भएको छ, जुन सवैभन्दा बढी हिस्सा हो। साहसिक गतिविधिमा खर्चको हिस्सा ०.०४ प्रतिशत मात्र रहेको छ ।
यातायात खर्चमध्ये ६८.७ प्रतिशत सार्वजनिक सवारी साधनमा खर्च हुने गरेको देखिन्छ, जसले सार्वजनिक यातायात आन्तरिक पर्यटनको प्रमुख माध्यम रहेको तथ्यांकले स्पष्ट पारेको छ । तथ्यांकअनुसार प्रति भ्रमण औसत खर्च ११ हजार ९२२ रुपैयाँ रहेको छ । स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा प्रति भ्रमण औसत खर्च २३ हजार ५१६ रुपैयाँ रहेको छ ।
तथ्यांक कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ नेपालमा आन्तरिक पर्यटनको अवस्था, भ्रमणको उद्देश्य, खर्चको ढाँचा तथा पर्यटन क्षेत्रको आर्थिक योगदान मापन गर्ने उद्देश्यले पहिलो राष्ट्रियस्तरको विस्तृत सर्वेक्षण हो ।
सर्वेक्षणअनुसार नेपालमा रहेका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ३६ लाख २१ हजार (५२.४ प्रतिशत) घरपरिवारले सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ । यस्ता घरपरिवारलाई ‘पर्यटक घरपरिवार’ का रूपमा वर्गीकरण गरिएको छ ।
पर्यटक घरपरिवारमध्ये ३३.३ प्रतिशतले वर्षमा एक पटक, ३२.२ प्रतिशतले दुई पटक तथा ३४.५ प्रतिशतले तीन वा सोभन्दा बढी पटक भ्रमण गरेको देखिएको छ । सर्वेक्षणले युवा पुस्ता, विशेष गरी जेनेरेसन अल्फा र जेनेरेसन जेड, अन्य उमेर समूहको तुलनामा बढी पटक भ्रमण गर्ने गरेको देखाएको छ । उमेर बढ्दै जाँदा भ्रमणको आवृत्ति क्रमशः घट्दै गएको पाइन्छ ।
बाह्य पर्यटनको अवस्था
२०८१ असोजदेखि २०८२ भदौसम्म नेपाली वासिन्दाले कुल २ लाख ९३ हजार सोही दिन फर्किने तथा ६ लाख २० हजार रात विताउने वाह्य भ्रमण गरेका छन् ।
सोही दिन फर्किने बाह्य भ्रमणको मुख्य उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा ६३.९ प्रतिशत रहेको छ । रात विताउने बाह्य भ्रमणमा किनमेल ४०.३ प्रतिशत तथा धार्मिक उद्देश्य १९.६ प्रतिशत प्रमुख रहेको देखिन्छ । त्यस्तै बाह्य भ्रमणको मौसमी वितरण हेर्दा कार्तिकदेखि पुससम्मको दोस्रो सिजनमा सबैभन्दा बढी भ्रमण हुने गरेको देखिएको छ । यस अवधिमा सोही दिन फर्किने भ्रमणको ५०.२ प्रतिशत तथा रात बिताउने भ्रमणको ३२.८ प्रतिशत हिस्सा रहेको छ ।
वाह्य भ्रमणमा प्रति भ्रमण सहभागी सदस्यको औसत संख्या १.२ जना रहेको छ, जसले अधिकांश भ्रमण व्यक्तिगत रूपमा हुने गरेको संकेत गर्दछ। भारततर्फ गरिने सोही दिन फर्किने भ्रमणमा कुल खर्चको ७०.७ प्रतिशत किनमेलमा खर्च हुने गरेको देखिएको छ । प्रदेशगत रूपमा मधेश प्रदेशवाट भारततर्फ हुने यस्ता भ्रमणको संख्या सवैभन्दा बढी रहेको पाइएको छ ।
पर्यटन स्याटलाइट लेखाको ढाँचाअनुसार नेपालमा आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटकीय उपभोग ४ खर्व ७ अर्थ १७ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ । यस उपभोगका आधारमा आन्तरिक पर्यटन क्षेत्रबाट कुल ३ खर्ब ३१ अर्व ८४ करोड रुपैयाँ बरावरको उत्पादन सिर्जना भएको अनुमान गरिएको छ । उत्पादन प्रक्रियामा १ खर्व ८७ अर्व ३४ करोड रुपैयाँ बराबरको मध्यवर्ती उपभोग कटाउँदा कुल पर्यटन मूल्य अभिवृद्धि१ खर्च ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
सर्वेक्षणका नतिजाअनुसार आन्तरिक पर्यटनले आर्थिक वर्ष सन् २०२४/२५ मा नेपालको कुल गार्हस्थ्य उत्पादन ५४ खर्व ५४ अवसँग तुलना गर्दा २.६५ प्रतिशत योगदान पुन्याएको अनुमान गरिएको छ । आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ ले नेपालमा आन्तरिक पर्यटनको व्यापकता, सामाजिक महत्त्व तथा आर्थिक योगदानलाई तथ्याङ्कीय रूपमा पुष्टि गरेको छ। आधाभन्दा बढी घरपरिवार पर्यटन गतिविधिमा सहभागी हुनु, पर्यटन क्षेत्रमा ४ खर्व रुपैयाँभन्दा बढी उपभोग सिर्जना हुनु तथा कुल गार्हस्थ्य उत्पादनमा २.६५ प्रतिशत योगदान रहनु आन्तरिक पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ बनेको स्पष्ट संकेत हो ।
४७.६ प्रतिशतले कुनै प्रकारको पर्यटकीय भ्रमण गरेनन्
तथ्याकअनुसार ३२ लाख ८९ हजार (४७.६ प्रतिशत) घरपरिवारले कुनै पनि प्रकारको पर्यटकीय भ्रमण नगरेको पाइएको छ । प्रति एक हजार घरपरिवारमा ५२३ पर्यटक घरपरिवार तथा ४७७ गैर–पर्यटक घरपरिवार रहेको देखिन्छ। यसले नेपालका आधाभन्दा बढी घरपरिवार प्रत्यक्ष रूपमा पर्यटन गतिविधिमा सहभागी रहेको संकेत गर्दछ ।
पर्यटक घरपरिवारको औसत सदस्य संख्या राष्ट्रिय स्तरमा ३.९४ रहेको छ। ग्रामीण क्षेत्रमा यो संख्या ४.०२ रहेको छ भने सहरी क्षेत्रमा ३.८७ रहेको छ । यसले ग्रामीण क्षेत्रका पर्यटक घरपरिवारमा परिवारको आकार तुलनात्मक रूपमा ठूलो रहेको देखाउँछ ।
आन्तरिक पर्यटनको उद्देश्य, अवधि तथा गन्तव्य
सोही दिन फर्किने आन्तरिक भ्रमणको प्रमुख उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा ३२.६ प्रतिशत रहेको छ । त्यसपछि स्वास्थ्य उपचार तथा साथीभाइ र आफन्त भेटघाटको हिस्सा समान रूपमा २०.१ प्रतिशत रहेको छ।
रात विताउने आन्तरिक भ्रमणको सन्दर्भमा भने साथीभाइ तथा आफन्त भेटघाट प्रमुख उद्देश्यका रूपमा देखिएको छ, जसको हिस्सा ६५.५ प्रतिशत रहेको छ। यसले नेपालमा सामाजिक तथा पारिवारिक सम्बन्ध आन्तरिक पर्यटनको प्रमुख प्रेरक शक्ति रहेको संकेत गर्दछ।
रात विताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन रहेको छ भने एक पर्यटकले वर्षभरिमा औसत ४.८१ पटक यस्ता भ्रमण गर्ने गरेको देखिएको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा लामो औसत बसाइ अवधि ८.१८ दिन रहेको छ। मधेश प्रदेशमा पनि औसत बसाइ अवधि ८.१८ दिन नै रहेको देखिन्छ। भ्रमण आवृत्तिको दृष्टिले गण्डकी प्रदेश सवैभन्दा अगाडि रहेको छ जहाँ बार्षिक औसत भ्रमण संख्या ६.२६ पटक रहेको छ। सुदूरपश्चिम प्रदेशमा भने यो संख्या ३.३२ पटक रहेको छ।
भ्रमणको उद्देश्यअनुसार शिक्षा तथा तालिमका लागि गरिने यात्रामा सबैभन्दा लामो बसाइ (औसत ९.१६ दिन) रहेको छ। तीर्थयात्रा तथा किनमेलसम्बन्धी भ्रमणहरू अपेक्षाकृत छोटो अवधिका हुने गरेका छन्।
वार्षिक भ्रमण आवृत्तिका आधारमा व्यावसायिक भ्रमण सबैभन्दा बढी (औसत ६.९ पटक) हुने गरेका छन् भने विद तथा मनोरञ्जनसम्बन्धी भ्रमणको औसत आवृत्ति ३.०२ पटक रहेको छ।
रात बिताउने आन्तरिक पर्यटनका प्रमुख गन्तव्य जिल्लामा काठमाडौं, चितवन तथा कास्की रहेका छन्। मनोरञ्जन तर विदा मनाउने उद्देश्यले गरिने भ्रमणमा कास्की जिल्ला सबैभन्दा लोकप्रिय गन्तव्यका रूपमा देखिएको छ ।
पर्यटकको जनसांख्यिकीय विशेषता पर्यटक घरपरिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ । जेनेरेसन जेड (१३–२८ वर्ष) को हिस्सा २६ प्रतिशत रहेको छ। त्यसपछि जेनेरेसन अल्फा तथा विटा (०–१२ वर्ष) को हिस्सा २२.६ प्रतिशत तथा जेनेरेसन (२९–४४ वर्ष) को हिस्सा २२.० प्रतिशत रहेको छ ।