काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित पलापु खानेपानी लिफ्ट आयोजनामा भ्रष्टाचार गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी र शिरिस कन्सक्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारका अनुुसार आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित उक्त लिफ्ट खानेपानी आयोजनाको ठेक्का सम्झौता शिरिस कन्स्ट्रक्सन, भक्तपुरसँग भएको थियो । निर्माण कम्पनीले समयमा काम नगरेपछि गाउँपालिकाको बैठकले २०७८ माघ २९ मा ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने र बैंक जमानत जफत गर्ने निर्णय गरेको थियो ।
तर, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदीले निर्माण कम्पनीका सञ्चालकसँगको मिलेमतोमा उक्त निर्णय लुकाएको पाइएको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध पलापु खानेपानी लिफ्ट आयोजनाको १८ लाख ५० हजार रुपैयाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोग लागेको छ ।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुेवदी र कन्सक्ट्रक्सनका सञ्चालक राईलाई सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा १८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ ।