काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्न कडा मापदण्ड ल्याएकी छन् । नार्कमा सुशासन कायम गर्न र मुलुकका विभिन्न भौगोलिक क्षेत्रको आवश्यकता अनुसारको अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन मन्त्री चौधरीले कर्मचारी सरुवा तथा पदस्थापना व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३ कार्यान्वयनमा ल्याउने भएकी हुन् ।
यस मापदण्डले वर्षौंदेखि काठमाडौं केन्द्रित बस्दै आएका कर्मचारीको बसाइलाई अन्त्य गर्दै दुर्गम क्षेत्रका कार्यालयहरूमा समेत कर्मचारी खटाउने व्यवस्था गर्नेछ । मन्त्री चौधरीको यो निर्णयलाई नार्कमा देखिएको विकृति अन्त्य गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
वर्षौंदेखि नार्कमा राजनीतिक पहुँचका आधारमा केही कर्मचारी काठमाडौंमा मात्र बस्दै आएका छन् । केही कर्मचारी काठमाडौंबाट नियुक्ति लिई सोही स्थानबाट अवकाशसमेत पाउने गरेका छन् । तर, आगामी दिनमा भौगोलिक क्षेत्रको आवश्यकता अनुसार कर्मचारी खटाइने मन्त्री चौधरीको भनाइ छ । पहुँच नभएका कर्मचारी मात्र दुर्गममा नियुक्त भई त्यहीँबाट अवकाश हुने अवस्था अब रहने छैन ।
उनले भनिन्, ‘दुर्गम क्षेत्रका कार्यालयमा कर्मचारीको चरम अभाव हुने र धेरै कर्मचारी काठमाडौं केन्द्रित मात्र हुने अवस्थाले संस्थाको अनुसन्धान कार्यमा गम्भीर विसंगति र असमानता सिर्जना गरेको छ । यसले नेपालको भौगोलिक क्षेत्रको आवश्यकता अनुसारको अनुसन्धान कार्यसमेत प्रभावित भएको छ ।’
नयाँ मापदण्डअनुसार अब निश्चित समयावधिमा मात्र सरुवा हुने, समान भौगोलिक वर्गका कार्यालयबीच सरुवा नगर्ने र काठमाडौं केन्द्रित भएर मात्र कर्मचारी बस्न नपाउने व्यवस्था गरिएको छ । साथै, कार्यालय प्रमुखको जिम्मेवारी नेतृत्व क्षमता, कार्यसम्पादन, बेरुजु फछ्र्योट र लक्ष्य प्रगतिका आधारमा दिइनेछ ।
विभागीय कारबाहीको प्रक्रियामा रहेका कर्मचारीलाई प्रमुखको जिम्मेवारी नदिने (भएमा हटाउने) र पदअनुसार तथा वरिष्ठताका आधारमा मात्र जिम्मेवारी दिने व्यवस्था पनि मापदण्डमा समावेश गरिएको छ । साथै, अब नियुक्त हुने सबै कर्मचारीलाई काठमाडौँ बाहिरका रिक्त पदहरूमा पदस्थापन गरिने व्यवस्था पनि यस मापदण्डमा गरिएको छ ।
मन्त्री चौधरीले यस मापदण्डले नार्कमा देखिएका विकृतिहरूको अन्त्य गरी किसानको आवश्यकता अनुसारको अनुसन्धानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, ‘यो मापदण्डले संस्थालाई नयाँ दिशा प्रदान गर्नुका साथै दुर्गम क्षेत्रसम्म अनुसन्धान सेवा पुर्याउन कर्मचारीलाई प्रतिबद्ध बनाउनेछ । अनुसन्धानका नतिजा किसानको खेतबारीसम्म पुर्याउनु नै हाम्रो मुख्य दायित्व हो ।’