काठमाडौं । ‘द वाल स्ट्रिट जर्नल’को हालैको एक प्रतिवेदनअनुसार भारतीय मूलका अमेरिकी नागरिक शंख मित्र विश्वभरमै दोस्रो सबैभन्दा बढी तलब पाउने सीईओका रूपमा देखा परेका छन् ।
‘वेलटावर’ कम्पनीमा उनको ८२१ मिलियन डलर (१ खर्ब २३ अर्ब ३२ करोड ३७ लाख नेपाली रुपैयाँ) को पारिश्रमिक प्याकेज टेस्लाका सीईओ एलन मस्क पछिको दोस्रो ठूलो हो, जसको मुआब्जा प्याकेज १५८ बिलियन डलर (१ खर्ब ५८ अर्ब डलर) रहेको छ ।
यद्यपि मित्रको पारिश्रमिक प्याकेज विगत एक दशकमा कुनै पनि सार्वजनिक कम्पनीको सीईओका लागि सबैभन्दा ठूला प्याकेजहरूमध्ये एक हो ।
एस एन्ड पी ५०० सूचीमा रहेको वेलटावर कम्पनी एक रियल एस्टेट इन्भेष्टमेन्ट ट्रस्ट हो, जसले स्वास्थ्य सेवा पूर्वाधारमा लगानी गर्दछ ।
मित्र सन् २०१६ मा यस कम्पनीमा आबद्ध भएका थिए र सन् २०१८ मा कम्पनीको मुख्य लगानी अधिकारी (सीआईओ) बनेका थिए । उनले सन् २०२० मा सीईओ र उपाध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।
सन् २०२० अक्टोबरमा वेलटावरको सञ्चालक समितिले मित्रलाई सीईओ नियुक्त गर्दा प्रमुख स्वतन्त्र निर्देशक जेफ्री एच डोनह्युले भनेका थिए, ‘विगत पाँच वर्षमा शंखको लगानी र परिचालन कौशलताले कम्पनीलाई बलियो अवस्थामा पुर्याएको छ ।’
वेलटावरका सीएफओ टिम म्याकह्युले पनि सन् २०२५ मा कीर्तिमानी १६७ मिलियन डलर भुक्तानी पाएका थिए।
मित्रको यो विशाल पारिश्रमिक प्याकेजको ठूलो हिस्सा सेयर पुरस्कारसँग जोडिएको छ ।
द वाल स्ट्रिट जर्नलको प्रतिवेदनमा भनिएको छ, ‘वेलटावरमा मित्रको पारिश्रमिकको ९९ प्रतिशत हिस्सा सेयर अनुदानबाट आएको हो, जसमा अक्टोबरमा प्रदान गरिएको ७८९ मिलियन डलर समावेश छ । वर्षको अन्त्यसम्ममा, उक्त पुरस्कार अन्तर्गत रहेका सेयरहरूको मूल्य १ बिलियन (१ अर्ब) डलरभन्दा बढी पुगेको कम्पनीले जनाएको छ ।’
उनले आफू कम्पनीमा रहिरहेसम्म सन् २०३१ मा ती सेयरहरूको करिब आधा हिस्सा प्राप्त गर्नेछन् । बाँकी आधा हिस्सा भने वेलटावरको बजार मूल्य ४५ प्रतिशतले बढ्ने र कम्पनीको सेयरले पाँच वर्षको अवधिमा विभिन्न स्टक इन्डेक्सहरूलाई उल्लेख्य अन्तरले पछि पार्ने कुरामा निर्भर गर्दछ ।
वेलटावरमा आबद्ध हुनुअघि मित्रले ‘मिलेनियम म्यानेजमेन्ट’मा रियल एस्टेट सेक्युरिटीजमा लगानी गर्ने पोर्टफोलियो म्यानेजरको रूपमा काम गरेका थिए । उनले व्यावसायिक रियल एस्टेट कम्पनी र पोर्टफोलियोहरूको ‘बटम–अप अन्डरराइटिङ’, धितोपत्र छनोट, मात्रात्मक पोर्टफोलियो र जोखिम व्यवस्थापनका लागि जिम्मेवार लगानी विज्ञहरूको टोलीको नेतृत्व गरेका थिए ।
उनले आफ्नो करियरको सुरुवात ‘प्राइसवाटरहाउसकूपर्स’ बाट गरेका थिए र ‘सिटाडेल इन्भेष्टमेन्ट ग्रुप’ तथा ‘फिडेलिटी इन्भेष्टमेन्ट्स’मा वरिष्ठ विश्लेषकको पदमा काम गरिसकेका छन् ।
भारतमा जन्मे–हुर्केका मित्रले जादवपुर विश्वविद्यालयबाट इन्स्ट्रुमेन्टेसन र इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक तह पूरा गरेका थिए । त्यसपछि उनी अमेरिका सरेका हुन् । उनीसँग कोलम्बिया बिजनेस स्कूलबाट ‘एप्लाइड भ्यालु इन्भेष्टिटङ’मा एमबीए डिग्री रहेको छ ।