काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनमा रवि लामिछानेले पार्टी सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बसेका छन् । महाधिवेशनमा केन्द्रीय सदस्यको मनोनयन फाराम वितरण कार्य समेत सुरु भइसकेको छ ।
रास्वपाको वैधानिक व्यवस्थाअनुसार सभापति र वरिष्ठ नेता पदका लागि केन्द्रीय सदस्य निर्वाचित भइरहनु पर्दैन भने बाँकी ९९ जना भने केन्द्रीय सदस्यमा अनिवार्य निर्वाचित हुनुपर्ने प्रावधान रहेको छ ।
महाधिवेशन अन्तर्गत पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुने कार्यतालिका छ, जसअन्तर्गत पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि निर्वाचन हुनेछ ।
यसैबीच, वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह महाधिवेशनको बन्दसत्रमा सहभागी भएका छन् । बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
त्यसअघि बन्दसत्रमा अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन र सङ्गठनात्मक प्रतिवेदन पेस गरिएका थिए ।
यसैगरी, पार्टी उपभापति डा. स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव र सहमहामन्त्री विपीनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।