काठमाडौं । समानान्तर निर्माण सेवा प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब ४६ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ७७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.७४ प्रतिशत अर्थात् ६ करोड ४० लाख रुपैयाँले मात्र बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी १ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीका अनुसार आव २०७९/८० मा २ अर्ब ६१ करोड ६० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब १९ करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब १३ करोड ९० लाख रुपैयाँ, आव २०७६/७७ मा २ अर्ब ९३ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ, आव २०७४/७५ मा १ अर्ब ८६ करोड १९ लाख रुपैयाँ, आव २०७३/७४ मा ७४ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको देखिन्छ ।
सन् २००९ सेप्टेम्बरमा स्थापना भएको कम्पनीले भवन निर्माण, सडक निर्माण तथा जल व्यवस्थापनसँग सम्बन्धित परियोजनाहरूमा काम गर्दै आएको छ । समानान्तर निर्माण सेवाले आफ्ना परियोजनाहरू स्वतन्त्र रूपमा मात्र नभई अन्य निर्माण कम्पनीहरूसँग संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मार्फत पनि सञ्चालन गर्दै आएको छ ।
कम्पनीको सञ्चालक समितिमा चार जना सञ्चालक रहेका छन्, जसको नेतृत्व अध्यक्ष अच्युत प्रसाद खरेलले गर्दै आएका छन् । उनी कम्पनी स्थापनादेखि नै नेतृत्वमा रहेका छन् । त्यस्तै, प्रबन्ध निर्देशकको जिम्मेवारी निरोज थापलियाले सम्हाल्दै आएका छन् ।
कम्पनीको नाफा मार्जिन ९.८२ प्रतिशतबाट घटेर ७.०८ प्रतिशतमा सीमित भएको छ । जुन टेन्डरमा आधारित व्यवसायको स्वभावले प्रभावित भएको कम्पनीले जनाएको छ । कच्चा पदार्थको लागत ८४.५९ प्रतिशतबाट बढेर ८९.५९ प्रतिशत पुगेको छ । तर, संयुक्त लगानीबाट प्राप्त लाभांशका कारण खुद नाफा मार्जिन ८.२२ प्रतिशतबाट बढेर १२.३० प्रतिशत पुगेको छ ।
कम्पनीको कार्यशील पुँजी चक्र मध्यम रहेको छ । आपूर्तिकर्ताबाट ६०–९० दिनसम्मको क्रेडिट सुविधा प्राप्त हुने भएकाले कार्यशील पुँजी व्यवस्थापनमा केही सहजता छ ।
कम्पनीका समूह सम्बद्ध संस्थाहरू जस्तै अशापुरी रोडा ढुंगा सप्लायर्स प्रालि, समानान्तर रोडा ढुंगा प्रालि, समानान्तर कंक्रिट उद्योग प्रालि, समानान्तर कृपा श्री प्रालि तथा सान्दर्भिक निर्माण सेवा प्रालि निर्माण सामग्री उत्पादन तथा आपूर्तिमा संलग्न छन् । यी संस्थाहरूले रेडीमिक्स कंक्रिट, ढुंगा, बालुवा, सब–बेस, बेस कोर्स, एस्फाल्ट लगायतका सामग्री उत्पादन तथा ढुवानीमार्फत आपूर्ति सुनिश्चित गर्दै आएका छन् । यसले कम्पनीलाई आपूर्ति शृंखला व्यवस्थापन, समयमै सामग्री उपलब्धता तथा लागत नियन्त्रणमा सहयोग पुगेको छ ।
चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको कार्यान्वयन हुन बाँकी अर्डर बुक २ अर्ब ८७ करोड ७० लाख रुपैयाँ रहेको छ । तर, अर्डर बुकको करिब ९५ प्रतिशत हिस्सा भवन परियोजनामा आधारित छ । मे २०२५ मा प्राप्त एक मात्र भवन परियोजनाले कुल अर्डर बुकको करिब ५३ प्रतिशत हिस्सा ओगटेको थियो भने शीर्ष तीन परियोजनाले करिब ८३ प्रतिशत हिस्सा ओगटेका छन् ।
कम्पनीका अनुसार अधिकांश परियोजनाहरू सरकारी टेन्डरमा आधारित छन्, जहाँ प्रतिस्पर्धात्मक बोलपत्रमार्फत ठेक्का प्राप्त गर्नुपर्छ । धेरै कम्पनीहरूको सहभागिताका कारण कम मूल्यमा अन्डरबिडिङ गर्ने जोखिम रहेको कम्पनीले जनाएको छ । सरकारले विदेशी कम्पनीलाई ५ अर्ब रुपैयाँभन्दा कमका टेन्डरमा सहभागी हुन नपाउने व्यवस्था गरेको छ, जसले घरेलु कम्पनीलाई केही फाइदा पुगेको छ। साथै, एउटै कम्पनीले अधिकतम ५ वटा मात्र सक्रिय परियोजना राख्न पाउने व्यवस्था पनि गरिएको छ, जसले वृद्धि सम्भावनामा केही सीमा ल्याउन सक्ने देखिन्छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ६ करोड ११ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ५ करोड ७७ लाख रुपैयाँ अल्पकालीन र ११ अर्ब ६० करोड ३३ लाख रुपैयाँ दीर्घकालीन ऋण रहेको छ ।