पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दाबी गर्दै अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’ को नियम झैँ नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गरेका हुन् । 

भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढेकाले सफलता पाएको बताए । यद्यपि रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ (दक्षिणपन्थी ढल्काइ) रहेको टिप्पणी गरे । देशको बहुसङ्ख्यक जनता अझै पनि गरिबीको रेखामुनि रहेको र ७०–८० प्रतिशत नागरिक शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उनले जोड दिए । 

पूर्वप्रधानमन्त्री भट्टराईले पुराना शक्तिहरूको विकल्पमा कम्तीमा दुईवटा प्रमुख वैकल्पिक शक्तिहरू हुनुपर्ने धारणा राखे । उनकाअनुसार एउटा रास्वपा जस्तो ‘राइट अफ सेन्टर’ र अर्को प्रगतिशील विचार बोक्ने ‘लेफ्ट अफ सेन्टर’ (मध्य–वामपन्थी) शक्तिबीच प्रतिष्पर्धा हुनुपर्छ । यी दुई धारले राष्ट्रियताको मुद्दामा सहकार्य र नीतिगत विषयमा प्रतिष्पर्धा गर्दा मात्रै देशको हित हुने उनको तर्क छ ।  

उनले भने, ‘उहाँहरूलाई अहिले शङ्काको सुविधा दिनुपर्छ । भर्खरै उदय भएको शक्तिलाई शुरुमै आलोचना गर्नुभन्दा पनि काम गर्ने अवसर दिनुपर्छ ।’

आफ्नो राजनीतिक अभियानका क्रममा ‘नयाँ शक्ति’ को ब्रान्ड स्थापित भइसकेपछि पटक–पटक नाम परिवर्तन गर्दा जनतामा अन्योल उत्पन्न भएको र त्यो आफूहरूको कमजोरी रहेको उनले स्वीकार गरे । डा. भट्टराईले पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेको भन्दै वैकल्पिक शक्तिहरू नै अबको निकास भएको दाबी गरे । बहुमत वा दुई–तिहाइको सरकारले मात्रै निकास नदिने उदाहरण विगतका सरकारहरूले पुष्टि गरिसकेको उनको भनाइ छ ।    

Share News