काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ साह दाजुभाइ सन्तोष साह र नारायण साह सुडीलाई सोमबार अदालतमा उपस्थित गराइने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सोमबार अदालत खुलेपछि उनीहरूलाई अदालतमा उपस्थित गराइनेछ । 'सोमबार अदालतमा उपस्थित गराइन्छ, अहिले प्रक्रिया अघि बढाउने अवस्था छैन,' उनले भने ।
हाल उनीहरू काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका छन् । भट्टराईका अनुसार ४१ वर्षीय सन्तोष साह र ५८ वर्षीय नारायण साह सुडी हिरासतमा रहेका छन् ।
शकुन्तला अधिकारी (थापा) को जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो ।प्रहरीका अनुसार २५ लाख रुपैयाँ र साढे ४ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीहरूविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता गरिएको हो ।
जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को उपदफा २ बमोजिम पक्राउ अनुमति दिएको थियो । अदालतले वैशाख २३ गते पक्राउ अनुमति जारी गरेको हो ।