काठमाडौं । सर्वसाधारणलाई प्रहरीको नक्कली परिचय पत्र देखाएर डरत्रासमा राख्ने एकजना पक्राउ परेका छन्।
बुधबार कागेश्वरी मनोहरा नगरपालिका बस्ने ३४ वर्षीय आशीष सुनुवारलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीको नक्कली परिचय पत्र बनाएर सर्वसाधारण तथा व्यवसायीहरूलाई डरत्रास देखाउने गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
चावहिललगायतका स्थानमा विगत केही समयदेखि प्रहरीको नक्कली परिचय पत्र बनाएर सुनुवार हिँडडुल गर्ने गरेका थिए ।
उनले आफूलाई ‘सीआईबीको सहायक हवल्दार आशीष सुनुवार हुँु’ भनी विभिन्न होटल व्यवसाय तथा स्थानीय व्यक्तिहरूलाई डर त्रास देखाउने गरेका थिए ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।