काठमाडौं । नेपालमा फार्मेसी तथा औषधि दर्ता संख्या निरन्तर बढ्दै गएको देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म दर्ता रहेका फार्मेसीको संख्या ३२ हजार २ सय ११ पुगेको छ ।
अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म १ हजार ३४ फार्मेसीको प्रमाणपत्र नवीकरण गरिएको छ भने १ हजार ७ सय १३ नयाँ फार्मेसी दर्ता भएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा १ हजार ४ सय ३२ नयाँ फार्मेसी दर्ता भएका थिए। त्यस्तै, नेपालमा हालसम्म २२ हजार ३ सय ५ ब्रान्डका औषधि दर्ता भएका छन् । तीमध्ये १३ हजार ५ सय २५ स्वदेशी ब्रान्ड र ८ हजार ७ सय ११ विदेशी ब्रान्ड रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्म मात्रै ७ सय ५८ ब्रान्ड औषधि दर्ता भएका छन् । जसमध्ये ५ सय ११ स्वदेशी र २ सय ४७ विदेशी ब्रान्डका औषधि रहेका छन् ।
गत आर्थिक वर्षको फागुनसम्म ५ सय २१ स्वदेशी तथा १ सय ३८ विदेशी ब्रान्डका औषधि दर्ता भएका थिए । यस वर्ष विदेशी ब्रान्डका औषधिको दर्ता संख्या बढेको देखिएको छ । औषधि तथा फार्मेसी क्षेत्रको विस्तारसँगै स्वास्थ्य सेवा पहुँच सहज बन्दै गएको भए पनि औषधिको गुणस्तर, नियमन तथा बजार अनुगमनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता सरोकारवालाले औँल्याएका छन् ।