नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ८८ हजार नाघ्यो

काठमाडौं । नेपालमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ८८ हजार नाघेको छ । नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद् तथा नेपाल फार्मेसी परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ८८ हजार ७ सय ७० पुगेको हो । 

आर्थिक सर्वेक्षण २०८२/०८३ को फागुनसम्मको तथ्यांकअनुसार स्वास्थ्य क्षेत्रमा आबद्ध चिकित्सक, दन्त चिकित्सक, विशेषज्ञ चिकित्सक तथा नर्सहरूको संख्या निरन्तर बढिरहेको देखिएको हो । नेपाल मेडिकल काउन्सिलमा फागुनसम्म कुल ४५ हजार २ सय २३ चिकित्सक दर्ता भएका छन् । तीमध्ये २५ हजार २ सय ७८ मेडिकल चिकित्सक, ६ हजार २३ दन्त चिकित्सक तथा १३ हजार ५ सय ४३ विशेषज्ञ चिकित्सक रहेका छन् । 

गत आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म नेपाल मेडिकल काउन्सिलमा ४४ हजार २ सय १० चिकित्सक दर्ता भएका थिए। चालु आर्थिक वर्षमा चिकित्सक दर्ता संख्या थप बढेको देखिएको छ । त्यस्तै, नर्सहरूको संख्या पनि उल्लेख्य रहेको तथ्यांकले देखाएको छ ।

विभिन्न नियामक निकायमा दर्ता भएका स्वास्थ्यकर्मीमध्ये महिलाको संख्या उच्च रहेको उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्र विस्तारसँगै दक्ष जनशक्तिको संख्या बढ्दै गएको भए पनि सेवा वितरण, जनशक्ति व्यवस्थापन तथा ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको पहुँच अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरू बताउँछन् ।

Share News