विशेष महाधिवेशनले कांग्रेस कमजोर भएको शेखर समूहको निष्कर्स

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो शक्ति संघर्ष र आन्तरिक असन्तुष्टिबीच नेता डा. शेखर कोइराला पक्षको बागमती प्रदेशस्तरीय बैठकमा पार्टी एकता कमजोर बन्दै गएको निष्कर्ष निकालिएको छ ।

बिहीबार काठमाडौंको बालुवाटारस्थित ओपेरा होटलमा आयोजित छलफलमा सहभागी अधिकांश नेताहरूले पार्टीभित्रको विवादको मूल कारण विशेष महाधिवेशनलाई ठहर गरेका हुन् । 

बैठकमा बोल्ने नेताहरूले विशेष महाधिवेशनपछि गुटउपगुटबीच दूरी बढ्दै गएको र त्यसले संगठनात्मक एकतामा प्रत्यक्ष असर पारेको धारणा राखेका थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार अधिकांश वक्ताहरूले विशेष महाधिवेशनकै कारण पार्टीभित्र एकता कायम हुन नसकेको धारणा राखेको ती नेताले बताए । उनीहरूले वर्तमान अवस्थामा देखिएको असन्तुष्टि र अविश्वासको वातावरणले पार्टीको समग्र कार्यसम्पादनमै असर पारिरहेको धारणा राखेको ती नेताले जानकारी दिए।

बैठकमा नेताहरूले अब पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने जिम्मेवारी विशेष महाधिवेशनका सभापति गगन थापामाथि रहेको निष्कर्षसमेत निकालेका छन् । 

सहभागीहरूले नेतृत्वले सबै पक्षलाई समेट्नेगरी विश्वासको वातावरण निर्माण गर्न नसके पार्टी झन् कमजोर बन्न सक्ने धारणा राखेको ती नेताले बताए ।

नेता कोइरालाले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक अवस्थाबारे धारणा बनाउन सुझाव संकलनका लागि उक्त छलफल आयोजना गरेका हुन् । कांग्रेसभित्र पछिल्ला दिनमा देखिएको ध्रुवीकरण र नेतृत्वबीचको दूरीका कारण यस्ता छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Share News