काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने घोषणा गरेको हो ।
बैठकले महाधिवेशनलाई लक्षित गर्दै चरणबद्ध कार्यतालिका समेत सार्वजनिक गरेको छ । नेकपाले सार्वजनिक गरेको कार्यक्रमअनुसार केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म प्रदेश, पालिका, वडा तथा जनवर्गीय संगठनहरूका समायोजन सम्पन्न गरिनेछ ।
नेकपामा तत्कालीन नेकपा एकीकृत माओवादी, एकीकृत समाजवादीसहित एक दर्जन घटक सामेल भएका छन् ।
त्यसपछि असार र साउन महिनामा श्रम शिविर सञ्चालन तथा सदस्यता नवीकरण अभियान चलाइने नेकपाका कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए ।
पार्टीले भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने तालिका निर्धारण गरेको छ ।
उक्त सबै प्रक्रिया पूरा भएपछि मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गरिने कार्यालय सचिव पुनले जानकारी दिए ।