कांग्रेस बैठकमा संसदीय दलको नेता र अनुशासनका मुद्दा टुंग्याउने तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयन र पार्टी अनुशासनसम्बन्धी विषयलाई लिएर आज (सोमबार) दिनभरि नै बैठकहरूको चटारो हुने भएको छ।  दलको नेता चयनमा देखिएको रस्साकस्सी तथा उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन पार्टीले आज तीनवटा छुट्टाछुट्टै बैठक बोलाएको हो ।

संसदीय दलको नेता चयनको विषय पेचिलो बन्दै गइरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने तय भएको छ । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव अघि सार्ने र सोही बैठकबाट नाम टुंग्याउने तयारी गरिएको स्रोतले जनाएको छ । यद्यपि, विभिन्न पक्षबीच सहमति जुट्न नसके प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने अवस्था पनि आउन सक्ने देखिएको छ।

यस्तै, दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिको बैठक बस्दै छ । समितिका सचिव दिनेश थापा मगरका अनुसार गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका तथा तिनका समर्थक र प्रस्तावकहरूविरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ ।

अनुशासन उल्लंघनसम्बन्धी उजुरीहरूको टुंगो लगाउने तथा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने तयारी पनि समितिले गरेको छ । आजका बैठकहरूबाट पार्टीभित्र देखिएको आन्तरिक विवाद व्यवस्थापन गर्दै संगठनलाई एकीकृत ढंगले अघि बढाउने अपेक्षा गरिएको छ ।   

Share News