निर्माण सामग्रीको सहज आपूर्ति र ओसारपसार मिलाउन स्थानीय तहलाई निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई विकास निर्माणका सामग्रीको उपलब्धता र ओसारपसारमा आवश्यक समन्वय गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले २०८३ वैशाख ११ गते मन्त्रिस्तरीय निर्णय गर्दै संघीय, प्रादेशिक र स्थानीय स्तरका विभिन्न आयोजनाहरू समयमै सम्पन्न गर्न आवश्यक पर्ने कच्चा पदार्थ र निर्माण सामग्री ढुवानीमा स्थानीय स्तरमा भइरहेको अवरोध हटाउन यस्तो कदम चालेको हो ।

निर्माण सामग्री प्राप्तिमा ढिलाइ हुँदा जनताको निर्वाध उपयोगको अधिकार संकुचन हुने र सरकारलाई थप करारजन्य दायित्व सिर्जना हुन सक्ने भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम आ–आफ्नो कार्यक्षेत्रभित्रका नदीजन्य पदार्थको उचित व्यवस्थापन गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

शाखा अधिकृत दीपेश कट्टेलमार्फत जारी गरिएको उक्त पत्रमा निर्माण सामग्रीको निर्वाध ओसारपसारका लागि सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक व्यवस्थापन मिलाउन भनिएको हो । 

साथै यो प्रक्रियामा सुरक्षा र प्रशासनिक सहयोगका लागि गृह मन्त्रालयलाई समेत आवश्यक समन्वय गरिदिन बोधार्थ पठाइएको छ । 

Share News