काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधनसम्बन्धी निर्णयलाई चुनौती दिँदै परेको रिट निवेदनमाथिको सुनुवाइ बिहीबारका लागि तय भए पनि स्थगित भएको छ ।
महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ स्थगनका लागि दिएको निवेदनका आधारमा आजको पेशी स्थगित गरिएको हो ।
यसअघि उक्त मुद्दा न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा परेको थियो ।
महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पेसी हटाए पनि पेसीबाट हटाउनु पर्ने कारण भने खुलाइएको छैन ।
महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारी प्रकाश गौतमले उक्त मुद्दा पेसीबाट हटाउनुपर्ने कारण आफूलाई पनि थाहा नभएको बताए ।
‘म पनि मुद्दाको बहसका लागि अदालतमा छु, त्यसैले मुद्दा स्थगनको कारणबारे थाहा भएन,’ गौतमले भने ।
सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालय विरुद्ध सर्वाेच्चमा रिट परेकाे थियाे । लामिछाने विरुद्धको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको उक्त रिट आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हाे ।
महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको उक्त रिट आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । मुद्दा संशोधनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन् ।
ती निवेदनहरूमाथि प्रारम्भिक सुनुवाइका क्रममा संयुक्त इजलासका दुई न्यायाधीशले गम्भीर कानुनी प्रश्न उठेको ठहर गर्दै मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएका थिए ।