कोशीमा कांग्रेसको निर्वाचन समीक्षा आज, गगन थापा विराटनगर जाँदै

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा आयोजना गर्दैछ । उक्त कार्यक्रममा सहभागी हुन पार्टीका सभापति गगनकुमार थापा आज बिहान विराटनगर प्रस्थान गर्दैछन् ।

निर्धारित कार्यतालिका अनुसार थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् । बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।

पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, हालै सम्पन्न निर्वाचन परिणामको समग्र समीक्षा तथा आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संग्रौलाले बताइन् । कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला तथा क्षेत्रीय सभापतिहरू र अघिल्लो निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ ।

नेपाली कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा यस्ता समीक्षा कार्यक्रमलाई तीव्रता दिएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशमा समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा संगठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो ।

पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी उपलब्धि तथा कमजोरी तथा सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने जनाएको छ । साथै, आगामी राजनीतिक रणनीति, संगठन विस्तार, क्रियाशील सदस्यता व्यवस्थापन, १५औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियताका विषयमा समेत छलफल हुने सहमहामन्त्री संग्रौलाले जानकारी दिइन् ।  

Share News