काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई सघाउन उर्दी जारी गरेको छ । कांग्रेसले आज हुने निर्वाचनका लागि सांसदहरुलाई उर्दी जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा नेकपा (एमाले)का उमेदवार गुरु बरालका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ ।
यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) सभापतिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार मदनकुमारी शाहका पक्षमा मतदान गर्न निर्देशन दिइएको हो ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पद भने प्रतिपक्षलाई दिइने परम्परालाई रास्वपाले नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो । नेकपा, एमाले र नेकपाले पनि सार्वजनिक लेखा समितिमा कांग्रेसलाई सघाउने निर्णय गरेका थिए । सो निर्णयपछि कांग्रेस एमाले र नेकपालाई मतदान गर्न तयार भएको हो ।
यस्तै, कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरेको समितिले सांसदहरूलाई छलफलका निम्ति बोलाएको छ । शुक्रबार दिउँसो ३ बजे दलको नेताबारे छलफल गर्न सांसदहरूलाई बोलाइएको सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए ।