विवाद मिलाउन देउवा पक्षसँग ड्यामेज कन्ट्रोल मोडमा गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको आन्तरिक किचलो थप गहिरिँदै गएपछि नेतृत्व अन्ततः ड्यामेज कन्ट्रोल मोडमा पुगेको छ । पार्टीले पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग औपचारिक संवाद थाल्ने निर्णय गरेको हो ।

बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत टकराव समाधान गर्न असन्तुष्ट पक्षसँग सीधा संवाद गर्ने निष्कर्षमा पुगेको जानकारी दिए । 

उनका अनुसार महाधिवेशनको वातावरण बनाउन र पार्टीलाई एकताबद्ध बनाउन यो पहल अपरिहार्य बनेको हो ।

पार्टी सभापति गगन थापा स्वयं अगाडि सरेर पूर्वपदाधिकारीदेखि शीर्ष नेतासम्मसँग छलफल गर्ने तयारीमा रहेको चालिसेले जानकारी दिए ।

पछिल्लो समय कांग्रेसभित्र नेतृत्व, विशेष महाधिवेशनको वैधानिकता र संगठनात्मक संरचनालाई लिएर तीव्र ध्रुवीकरण देखिएको छ ।

विशेष गरी देउवा समूह र वर्तमान नेतृत्वबीचको अविश्वास बढ्दै जाँदा पार्टीको आन्तरिक एकता मात्रै होइन, आगामी राजनीतिक एजेन्डामै असर पर्ने संकेत देखिएका छन् । यही पृष्ठभूमिमा कांग्रेस नेतृत्वले अब वार्ता नै अन्तिम विकल्प ठानेर संवादको ढोका खोल्ने रणनीति लिएको नेताहरूले बताएका छन् ।

Share News