काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
कांग्रेसको लेटरप्याड दुरुपयोग गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।
समितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०७२/१२/१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छ भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो। यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।’