काठमाडौंमा ‘रोड टु आइपीओ : फ्रम कन्भर्सन टु लिस्टिङ’ कार्यशाला सम्पन्न

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र आईसीआरए नेपाल लिमिटेडको सहकार्यमा शुक्रबार ‘रोड टु आइपिओ : फ्रम कन्भर्सन टु लिस्टिङ’ शीर्षकको कार्यशाला सम्पन्न गरेको छ ।

विशेषगरी विभिन्न कर्पोरेट संस्थाका प्रतिनिधिहरूलाई कम्पनीलाई सार्वजनिक बनाउन प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत अघि बढ्दा आवश्यक हुने ज्ञान, रणनीतिक मार्गदर्शन र प्रक्रियागत जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको सुरुवात एनआईएमबी इस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवान्तबहादुर पाण्डेले गरेका थिए । उनले कम्पनीको दीर्घकालीन दृष्टि निर्माण, पुँजी गठनलाई सहज बनाउन र समग्र आर्थिक विकासमा योगदान पुर्याउन आईपीओको महत्त्वबारे जोड दिएका थिए ।

पायोनियर ल एशोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेतीले आईपीओसम्बन्धी कानुनी पक्ष तथा त्यसलाई नियमन गर्ने वर्तमान कानुनी ढाँचा बारे महत्त्वपूर्ण जानकारी प्रस्तुत गरे । 

सोही क्रममा एनआईएमबी एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सचिन्द्र ढुंगानाले कर्पोरेट सुशासन, आईपीओ गर्ने उपयुक्त समय, विधि, पुँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता विषयमा विस्तृत प्रस्तुति दिए।

त्यस्तै, इक्रा नेपालका रेटिङ डिभिजन प्रमुख राजीव महर्जनले कम्पनीको वित्तीय विवरणले क्रेडिट रेटिङ र लगानीकर्ताको धारणा निर्धारणमा खेल्ने महत्त्वपूर्ण भूमिकाबारे जानकारी प्रस्तुत गरे ।

Share News