बैंकिङ अनुशासन भङ्ग भयो, राजनीतिक दलहरू संवेदनशील हुनुपर्छः अध्यक्ष यादव

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले बैंकिङ क्षेत्रमा बैंकिङ अनुशासन भङ्ग भएको बताएका छन् । नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले काठमाडौंमा आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

बैंकिङ क्षेत्र संवेदनशील भएकाले राजनीतिक दलहरूले संवेदनशील भएर धारणा राख्नुपर्ने उनको भनाइ छ । बैंकिङ क्षेत्र विरुद्ध भइरहेका अराजक गतिविधि रोक्न सबै राजनीतिक दलहरूले गम्भीर भएर लाग्नु पर्ने उनले बताए । 

तीनै तहका सरकारले दिने व्यावसायिक तालिम, वित्तीय साक्षरताको कार्यक्रम, जनचेतना मूलक कार्यक्रममा लघुवित्त संस्थाहरूसँग समन्वय गर्न सकियो भने आर्थिक र सामाजिक रुपान्तरणमा गर्न सकिने उनको धारणा छ । साथै, सहरी र ग्रामीण अर्थतन्त्रलाई सन्तुलन कायम गर्न उद्यमशीलता र रोजगारी श्रृजनामा जोड दिनुपर्ने उनले बताए ।

‘सहरी अर्थतन्त्रलाई मात्रै बढी जोड दिइन्छ । तर, ग्रामीण अर्थतन्त्रलाई सन्तुलन गर्न नसक्दा समस्या सधैं आइरहन्छ । किनभने सहरी र ग्रामीण अर्थतन्त्र समान रुपमा अघि बढ्नुपर्ने हुन्छ । ग्रामीण क्षेत्रमा उत्पादन गरेर शहरले खपत गर्ने र शहरको पैसा ग्रामीण क्षेत्रमा जानुपर्छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा पूर्वाधार विकास असाध्यै भएका छन् । तर, त्यो विकासलाई उपभोग गर्ने मान्छे छैनन् । विकाससँग उत्पादनलाई जोड्न सकिरहेको छैन । जबसम्म उद्यमशीलताको विकास गर्न सकिँदैन, रोजगारी श्रृजना गर्न सकिँदैन, तबसम्म ग्रामीण क्षेत्रको मान्छेहरू सहरमा आउने र शहरको मान्छे विदेशमा जाने प्रवृत्ति रोक्न सकिँदैन ।’ 

ग्रामीण क्षेत्रमै रोजगारी, उद्यमशीलता श्रृजना गर्न लघुवित्त संस्थाहरूले अहम् भूमिका खेलिरहेको उनले बताए । उनका अनुसार लघुवित्त संस्थाहरू ६० लाख घरपरिवारमा पुगिसकेका छन् भने २७ लाख व्यक्तिलाई ऋण प्रवाह गरेका छन् ।

‘३० प्रतिशत बैंकको ऋण ४ प्रतिशत व्यक्तिमा गएको भन्ने सुनिन्छ । तर, लघुवित्त संस्थाहरूले त्यसरी कर्जा प्रवाह गरेका छैनन् । ६० खर्ब रुपैयाँ ऋणमध्ये ८ प्रतिशत अर्थात्  ५ खर्ब रुपैयाँ ऋण लघुवित्तको छ । त्यो ५ खर्ब रुपैयाँ ऋण ६० प्रतिशत मान्छेहरूले लगेका छन् । जति मान्छेहरूमा ऋणको पहुँच विस्तार गर्न सकियो त्यति नै उद्यमशीलताको विकास गर्न सकिन्छ,’ उनले भने । 

Share News