काठमाडौं । राजस्व अनुसन्धान विभागअन्तर्गत रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी र करछलीविरुद्ध फेरि ठूलो कारबाही गरेको छ ।
कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बुटवलका स्थानीय व्यवसायी अजय बैङ्गल स्टोरले भारतबाट पशुपन्छी आहाराका नाममा गलत विवरण प्रस्तुत गरी ठूलो परिमाणमा करछली गरेको पाइएको हो ।
राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० बमोजिम दर्ता गरिएको अभियोगपत्र अनुसार अजय बैङ्गल स्टोरले पशुपन्छी आहाराको नाममा भारतबाट आयात गरिएका वस्तुहरू आन्तरिक बजारमा वास्तविक विवरण लुकाएर बिक्री गरेको पाइएको छ ।
अनुसन्धान अनुसार कम्पनीले करिब ९ करोड ९९ लाख ८९ हजार ८ सय ४१ रुपैयाँ बराबरको कारोबारमा कर छल्न खोजेको थियो । वास्तविक मूल्याङ्कनका आधारमा उक्त कारोबारमा लाग्ने कर मात्रै ४ करोड ८३ लाख २५ हजार ८ सय ८६ रुपैयाँ रहेको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।
बिगो तथा जरिवानासहित उक्त सम्पूर्ण रकम असुलउपर गर्नका लागि तथा दोषीमाथि कैद सजायको माग गर्दै राजस्व विभागले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ । यसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतका सबै प्रकारका कर समावेश छन् ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार अवैध व्यापार, तस्करी र करछलीमा संलग्न समूहहरूको खोजी, निगरानी तथा कारबाहीका लागि विशेष अभियान चलाइएको छ ।
‘राजस्व सुरक्षाका लागि हाम्रो टोली निरन्तर सक्रिय छ, यस्ता कारबाहीहरू आगामी दिनमा अझ तीव्र पारिनेछ,’ घिमिरेले भने ।