काठमाडौं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरु प्रसाद पराजुलीका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ४१ करोड ७९ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
अघिल्लो आवमा कार्यालयले २ अर्ब ३९ करोड ४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१/८२ मा ८५ करोड ८ लाख ६५ हजार रुपैयाँ आयकर सङ्कलन भएको छ । अघिल्लो आवमा ७५ करोड १ लाख ७२ हजार रुपैयाँ आयकर सङ्कलन भएको थियो ।
त्यसैगरी, ब्याज करमा पनि २२ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा २ करोड ८९ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा २ करोड ५२ लाख ५० हजार रुपैयाँ सङ्कलन गरेको थियो ।
घरबहाल कर १२.५ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१/८२ मा १ करोड ३७ लाख ८० हजार रुपैयाँ घरबहाल कर सङ्कलन गरेको छ ।
अघिल्लो आवमा १ करोड २२ लाख ७७ हजार रुपैयाँ घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा ६० करोड ८८ लाख ६१ हजार रुपैयाँ र अन्तःशुल्कमा ९० करोड ९१ लख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
‘यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ,’ प्रमुख कर अधिकृत पराजुलीले भने, ‘अन्तःशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’
कार्यालयको १३ करोड रुपैयाँ राजस्व बक्यौता रहेको छ । ‘भ्याटमा ९ करोड रुपैयाँ र आयकरमा ४ रुपैयाँ र करोड बक्यौता बाँकी छ,’ उनले भने, ‘बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ ।’
बक्यौता रकम नतिर्ने करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्र पत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताए । पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्र पत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैंक खाता रोक्का समेत हुन सक्ने उनको भनाइ छ ।