काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले समीक्षा अवधिमा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ ।
बैंकले असार मसान्तसम्ममा ९८ करोड ७० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ भने ६० करोड ७४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ ।
चौथो त्रैमासको अन्त्यसम्ममा बैंकले कुल ६३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ५५ करोड रुपैयाँ कर्जा तथा सापट प्रवाह गरेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) रु. १८.१० रहेको छ भने आधार दर ७.०७ प्रतिशतमा सीमित छ ।
बैंकको वित्तीय स्वास्थ्यलाई दर्शाउने अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन्। बैंकको पुँजीकोष अनुपात १३.२० प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा बढी हो । यस्तै, निष्कृय कर्जा अनुपात ३.३८ प्रतिशत रहेको छ ।
बैंकका वित्तीय सूचकहरूमा कुल चुक्ता पुँजी ३.५१ अर्ब रुपैयाँ, कुल निक्षेप ६३.५० अर्बरुपैयाँ, कुल कर्जा तथा सापट ५२.५५ अर्ब रुपैयाँ रहेको छ । यस्तै, सञ्चालन मुनाफा ९८.७० करोड रुपैयाँ तथावितरणयोग्य मुनाफा ६०.७४ करोड रुपैयाँ रहेको जनाइएको छ ।
प्रतिशेयर आम्दानी १८.१० आधार दर ७.०७ प्रतिशत तथा निष्कृय कर्जा अनुपात ३.३८ प्रतिशत रहेको बताइएको छ ।
यसैबीच, बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर (Non-Redeemable Non-Cumulative Preference Shares) जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको जनाएको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी शेयर निष्कासन गरिने बैंकले जानकारी दिएको छ ।
देशभर १३० वटा शाखा सञ्जालमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयसीमाभन्दा अगावै वित्तीय विवरण प्रकाशन गरी अनुकरणीय कार्य गरेको छ ।