नेपाल एसबिआई बैंकको ऋणपत्रमा लगानीकर्ताको ओइरो, ४ गुणा बढी आवेदन

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले निष्काशन गरेको  ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ मा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको छ । बैंकले माग गरेको भन्दा चार गुणा बढी आवेदन परेपछि ऋणपत्रको निष्काशन सफलतापूर्वक सम्पन्न भएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता अर्थात् कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । तर, निष्काशन अवधिभित्र १ करोड २० लाख कित्ताभन्दा बढी अर्थात् १२ अर्ब रुपैयाँभन्दा बढीको लागि आवेदन परेको हो ।

कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । सर्वसाधारणका लागि जारी गरिएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हरूका लागि आरक्षित थियो ।

१० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशतको आकर्षक ब्याजदर पाउनेछन् । उक्त ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०८२ जेठ ७ गते स्वीकृति पाएको थियो ।  निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले सफलतापूर्वक निर्वाह गरेको छ ।

असार ३० गतेदेखि श्रावण १ गतेसम्म खुला रहेको यस निष्काशनमा परेको अत्यधिक आवेदनले नेपाल एसबिआई बैंकको वित्तीय स्वास्थ्य र बजारमा रहेको प्रतिष्ठाप्रति लगानीकर्ताको गहिरो विश्वासलाई पुनः पुष्टि गरेको छ ।

Share News