सानिमा बैंकको इ-कम डलर कार्डमा अनलाइनबाटै तत्काल टप-अप सुविधा

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि इ-कम भिसा कार्डमा अनलाइनबाटै तत्काल ब्यालेन्स टप-अप गर्ने सुविधा सञ्चालनमा ल्याएको छ । यस नयाँ सुविधासँगै अब ग्राहकहरूले घर वा कार्यालयबाटै जुनसुकै बेला आफ्नो अमेरिकी डलर (USD) इ-कम कार्डमा सजिलै ब्यालेन्स थप गर्न सक्नेछन् ।

बैंकका अनुसार, यो सुविधा बैंकको ‘सानिमा सजिलो ई-बैंकिङ’ एप वा बैंकको वेबसाइटमा रहेको अनलाइन सेवा अन्तर्गतको ‘eCom (Online Payment) Request’ आइकनमार्फत उपलब्ध छ ।

टप-अप गर्नका लागि ग्राहकले बैंकमा दर्ता भएको आफ्नो मोबाइल नम्बर वा इमेल ठेगाना, बचत खाता नम्बर र क्याप्चा (captcha) भरेर प्रक्रिया अगाडि बढाउन सक्नेछन् । 

त्यसपछि, ग्राहकको मोबाइल नम्बर वा इमेलमा प्राप्त हुने एक पटकको पासवर्ड (OTP) प्रविष्ट गरेपछि तुरुन्तै कार्डमा ब्यालेन्स टप-अप हुने बैंकले जनाएको छ ।

यो सुविधाले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीका लागि डलर कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई ठूलो राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकले हाल देशका सातै प्रदेशबाट १३४ शाखा कार्यालय र १२७ एटीएम नेटवर्कमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

Share News