काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८१/८२ मा ७ वटै प्रदेशमा रहेका आफ्ना १४८ शाखामार्फत वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरेको छ ।
कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बागमतीका ४७, गण्डकीका १४, लुम्बिनीका ३२, कर्णालीका ११ र सुदूरपश्चिम प्रदेशका ९ शाखा मार्फत महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारीमा जाने सम्भावित व्यक्ति लगायत विभिन्न उमेर तथा पेशागत समूहलाई लक्षित गरी वित्तीय साक्षरताका कार्यक्रमहरू सम्पन्न गरिएको हो ।
यी कार्यक्रममार्फत झन्डै १० हजारभन्दा बढी व्यक्तिहरूलाई वित्तीय ज्ञान प्रदान गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरताको महत्त्व, आवश्यकता, डिजिटल बैंकिङको बढ्दो प्रयोगसँगै देखिएका जोखिम र अपराध सम्बन्धी विस्तृत जानकारी दिइएको थियो । साथै, नगद कारोबार, लेनदेन र विप्रेषणजस्ता आर्थिक क्रियाकलापमा औपचारिक बैंकिङ प्रणालीको प्रयोग गर्नुपर्ने कुरामा समेत जोड दिइएको थियो ।
बैंकले विश्वास लिएको छ कि यस्ता कार्यक्रमहरूले सर्वसाधारणमा वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै बैंकिङ प्रणाली सुदृढ बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नेछ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकले यसअघि पनि स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरूमा सहयोग, तथा असहायहरूका लागि सञ्चालन गरिएका संस्थाहरूसँग सहकार्य गर्दै आएको छ ।