नेशनल लघुवित्त १२औँ वर्षमा प्रवेश, २५ अर्ब रुपैयाँ पुग्यो लगानी

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था १२औँ वर्षमा प्रवेश गरेको छ । विसं २०७१ असार १८ गते स्थापना भएको नेशनल लघुवित्त आजबाट ११ वर्ष पुरा गरी १२औँ वर्षमा प्रवेश गरेको हो । लघुवित्तले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । 

सातै प्रदेशमा पहुँच विस्तार गरेको यस लघुवित्तले ७४ जिल्लामा १८५ शाखा कार्यालयको माध्यमबाट समाजमा रहेका विपन्न तथा गरिब वर्गको जीवनस्तर माथि उठाउने र राष्ट्रको गरिबी न्यूनीकरणमा टेवा पुर्याइरहेको छ । 

२ लाख ४६ हजार ग्राहक रहेका लघुवित्त संस्थाले २५ अर्ब रुपैयाँ लगानी गरेको छ भने ७ अर्ब रुपैयाँ बचत गरेको छ ।

१ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तमा ७ वटा बैंक तथा वित्तीय संस्था र ३१ जना राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्तिको संयुक्त लगानी रहेको छ । लघुवित्तमा वाणिज्य बैंकहरुको २७.५२ प्रतिशत, विकास बैंक तथा फाइनान्स कम्पनीहरूको ३.४१ प्रतिशत र व्यक्तिगत संस्थापकहरूको ४४३.०९ प्रतिशत सेयर स्वामित्व छ भने सर्वसाधारण सेयरधनीहरूको २५.९८ प्रतिशत स्वामित्व रहेको छ । 
 
लघुवित्तका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.०५ प्रतिशत, कुमारी बैंकको ९.४९ प्रतिशत, प्राइम बैंकको १.८८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १.२२ प्रतिशत, सिद्धार्थ बैंकको ०.८० प्रतिशत, हिमालयन बैंक र नबिल बैंकको ०.५४÷०.५४ प्रतिशत सेयर लगानी रहेको छ ।

यस्तै, गरिमा विकास बैंकको १.२७ प्रतिशत, गोर्खाज फाइनान्सको ०.९३ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ०.६८ प्रतिशत र बेस्ट फाइनान्सको ०.५३ प्रतिशत सेयर लगानी रहेको छ । 

लघुवित्तको सञ्चालक समिति अध्यक्षमा केशव प्रसाद आचार्य रहेका छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम बहादुर यादव रहेका छन् । आचार्य अर्थविद हुन् भने यादव नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष हुन् । 

साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति र साविक समीट लघुवित्तसँग मर्ज गरेको यस लघुवित्तको केन्द्रीय कार्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा रहेको छ । 

Share News