काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशाको बीच आशाको दियो बाल्ने काम आईएमई ग्रुपले गरेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सो बताएका हुन् ।
मन्त्री भण्डारीले निराशाको बीचमा पनि नेपाल बन्दैछ भन्ने हिसाबले सकारात्मक सन्देश दिएको बताए । उनले उद्यमशीलताको माध्यमबाट मात्रै रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै उद्यमशीलता गर्न कठिन रहेको औंल्याए । उनले भने, ‘उद्यमशीलता गर्न कठिन छ, किनभने विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।’
उद्यमशीलतालाई सहज बनाउन व्यवसायी उद्योगीले नीतिगत सहजताको अपेक्षा गर्दै आइरहेको जानकारी दिँदै उनले त्यसको लागि आफू लागिरहेको बताए । सरकारले कुल बजेटको ०.५ प्रतिशत मात्रै बजेट उद्योग मन्त्रालयलाई छुट्याएको छ ।
एभरेस्ट फाइवर सिमेन्ट बोर्ड प्रालिले उत्पादन गरेका वस्तु विश्व बजारमा पुर्याउन सरकारले सहयोग र सहजीकरण गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाए । त्यस्तै उनले नेपाली वस्तु निर्यातमा देखिएको समस्यालाई सरकारले सोच्नुपर्ने औंल्याए । उनले भने, ‘अरूका वस्तु निर्वाध भित्रिने तर नेपाली वस्तु निर्यातमा अप्ठ्यारो हुने स्थितिलाई अब सरकारले सोच्नुपर्छ । यसमा सरकार गम्भीर बनेको छ ।’
कार्यक्रममा मन्त्री भण्डारीले सरकालाई गिज्याउने रुग्ण रहेका उद्योग निजि क्षेत्रलाई चलाउन दिने गरि अन्तिम तयारीमा रहेको बताए । उनका अनुसार अबको एक वर्षभित्र निजी क्षेत्रलाई दिने तयारी भइरहेको छ । यस्तै उनले संघीय देखि स्थानीय तहसम्मका सरकारले नेपाली उत्पादनलाई प्रयोग गर्ने बनाउन, माया लाग्ने बनाउने गरि काम भइरहेको बताए ।