स्वावलम्बन लघुवित्तको सिन्धुलीमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिकामा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सदस्य, अभिभावक तथा सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य कर्जा तथा बचत व्यवस्थापनको ज्ञान प्रदान गर्दै कर्जाको सदुपयोग, उद्यमशीलताको विकास र स्थानीय स्रोत-साधनको प्रयोगमार्फत न्यून आय भएका वर्गको आर्थिक तथा सामाजिक स्तर अभिवृद्धि गर्नु रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कमलामाई नगरपालिका–९ का वडा अध्यक्ष विनोद प्रधानले सहभागीहरूलाई विभिन्न संस्थाबाट अनावश्यक ऋण नलिई, उपलब्ध कर्जाको उत्पादनमूलक उपयोग गरी उद्यमशील बन्न सुझाव दिए ।

विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दीपक कुमार पोखरेलले कर्जाको सदुपयोग गर्न प्रेरित गर्दै यदि कुनै गुनासो वा समस्या भएमा संस्थामै जानकारी गराई समाधान खोज्न सुझाव दिए ।

कार्यक्रममा सहभागी ग्राहक सदस्यहरूले स्वावलम्बनले आफूहरूलाई उद्यमशील बन्न सहयोग गरेको उल्लेख गर्दै संस्थालाई भविष्य निर्माणको आधारको रूपमा लिएको बताए । उनीहरूले थप सहज सेवा प्रवाहको अपेक्षा पनि व्यक्त गरे ।

शाखा प्रबन्धक जानकी कुमारी बानियाँले ग्राहकलाई सहज कर्जा प्रवाहका साथै उद्यम गर्न आवश्यक परामर्श प्रदान गर्दै आएको जानकारी दिइन् । उनले आगामी दिनमा थप नवीन सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा कर्जा बीमा रकमको भुक्तानी तथा एसइइ परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने सदस्यका सन्तानलाई छात्रवृत्तिस्वरूप नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Share News