काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म २ लाख २० हजार ५ सय ६४ थान स्मार्ट सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको छ ।
अर्थमन्त्रीले विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०७८ असारसम्म देशभर ३६ लाख ९१ हजार ६ सय ५५ थान सवारी चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २०८१ फागुनसम्म यो संख्या बढेर ३९ लाख १२ हजार २ सय १९ पुगेको छ ।
त्यस्तै, २०७८ असारसम्म ३९ वटा यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू गरिएकोमा २०८१ फागुनसम्म यो संख्या ४० पुगेको छ ।
रेल यातायातमा प्रगति
पूर्व-पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास-निजगढ खण्ड (८२ किलोमिटर) मा २०८१ फागुनसम्म ६८ किलोमिटर ट्र्याक वेड र १६ वटा रेल पुल निर्माण सम्पन्न भएका छन् ।
नेपाल-भारत अन्तरदेशीय रेलमार्ग अन्तर्गत जयनगर-जनकपुर-बर्दिबास ६९ किलोमिटर रेलमार्गको जयनगर–जनकपुर–भंगाहा खण्डमा ५२ किलोमिटर क्षेत्रमा यात्रुबाहक रेल सेवा सञ्चालनमा छ ।
नेपाल-चीन अन्तरदेशीय रेलमार्ग अन्तर्गत केरुङ-काठमाडौं खण्डको सम्भाव्यता अध्ययन अन्तर्गत हालसम्म करिब ९० प्रतिशत भौगर्भिक अन्वेषण कार्य सम्पन्न भएको छ ।